सक्षम परियोजनामार्फत कृष्णपुरका १ हजार ५ सय ८४ घरधुरी लाभान्वित

पहिलाद राना/कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित सक्षम परियोजना मार्फत सयौँ किसान लाभान्वित भएका छन् । करिब चार वर्षदेखि कृष्णपुरका ग्रामीण क्षेत्रमा सञ्चालन भएको उक्त परियोजनाबाट १ हजार ५ सय ८४ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका हुन् ।

लिबर्ड संस्थाले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको यस परियोजना कृष्णपुर नगरपालिकाका वडा नं. १, २, ४, ५ र ९ मा लागू गरिएको थियो । परियोजनाले ग्रामीण बस्तीका साना, विपन्न, भूमिहीन तथा सीमान्तकृत किसानको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ ।

लिबर्डका कार्यक्रम अधिकृत नविन पौडेल ले प्रस्तुत गरेको सामाजिक परीक्षण प्रतिवेदनअनुसार परियोजनामा १ हजार २ सय ६५ महिला र ३ सय ११ पुरुष प्रत्यक्ष सहभागी थिए । सहभागीमध्ये १ हजार २ सय २७ जना मुक्त कमैया, १ सय ६५ दलित, ६५ अपाङ्गता भएका व्यक्ति तथा १ सय ८ बिटिसी समूह का नागरिक रहेका थिए ।

प्रतिवेदनअनुसार परियोजनाले किसानको खाद्य तथा पोषण अवस्था सुधार, आयआर्जन वृद्धि, जलवायु परिवर्तन अनुकूलन क्षमता अभिवृद्धि तथा विपद् जोखिम व्यवस्थापन मा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

कार्यक्रम अधिकृत पौडेलका अनुसार साना किसान, भूमिहीन, मुक्त कमैया, हलिया, दलित, थारु तथा आदिवासी जनजाति समुदाय लाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । “तालिम, जलवायु अनुकूलन सामग्री वितरणलगायत आवश्यक सहयोगपछि किसानहरू निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषितर्फ उन्मुख भएका छन्,” उनले बताए ।

परियोजनाअन्तर्गत घर तथा विद्यालय बगैँचा निर्माण, गोठसुधार, पशुपालन, पशु बीमा, जलवायु अनुकूलन नमुना गाउँ विस्तार, उद्यमशील विकास तालिम, जैविक तटबन्ध निर्माण, बहुउद्देश्यीय नर्सरी, सौर्य सोलार जडान तथा कृषि मेला जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो । यसको प्रभावस्वरूप किसानहरू अहिले आफ्नै जमिनसँगै भाडामा लिएको जमिनमा समेत कृषि उत्पादनमा जुटेका छन् ।

सामाजिक परीक्षक धिरेन्द्र सिनाल ले परियोजनामार्फत किसानको ज्ञान, सीप र क्षमता विस्तार भएको बताए । “पहिला वर्षमा चाडपर्व कुर्नु पर्ने किसान अहिले हप्ताहप्तामा मासु र पोषिलो खाना उपभोग गर्न थालेका छन्,” उनले भने । सामूहिक करार खेती र व्यवसायिक तरकारी खेतीमार्फत किसानहरूले जमिन खरिददेखि घरव्यवहार सञ्चालनसम्म प्रभावकारी प्रगति गरेको उनको भनाइ छ । उनले बाली बीमा कार्यक्रमलाई थप सुदृढ गर्नुपर्ने सुझावसमेत दिएका छन् ।

परियोजना संयोजक ईन्देश्वर मण्डल ले जलवायु अनुकूलन कार्यक्रममार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको बताए । घर तथा विद्यालयमा रैथाने अन्नबाली, तरकारी र फलफूल खेती विस्तार गर्दै किसानलाई व्यवसायिक बनाइएको उनले बताए । साथै, विपद् जोखिमयुक्त क्षेत्रमा वैकल्पिक रूपमा बगर खेती प्रवद्र्धन गरिएको पनि उनले जानकारी दिए ।

कृष्णपुर नगरपालिका उप–प्रमुख द्रोपती राना ले सक्षम परियोजनाले नगरका किसानलाई पहिलेभन्दा अहिले आत्मनिर्भरतातर्फ उन्मुख गराएको बताइन् । उनले परियोजनाबाट प्राप्त उपलब्धिलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै किसानमुखी कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

आइतबार आयोजित एक कार्यक्रममा सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण गरिएको थियो । कार्यक्रममा परियोजनासँग सम्बन्धित संस्था, कर्मचारीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेमबहादुर बोगटी को सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, किसान तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित