बेलडाँडी । दिनप्रतिदिन चिसो र शितलहर बढ्दै गएपछि झिलमिला प्रहरी चौकीले बेलडाँडी गाउँपालिका ४ र ५ वडाका मुख्य चोकचौराहमा दाउरा तथा मुडा वितरण गर्दै मानविय सेवा सुरु गरेको छ ।
झिलमिला प्रहरी चौकी र किसान मध्यवर्ती सामुदायिक वनको समन्वयमा वडा नं. ४ र ५ का मुख्य चोकचौराहमा आगो ताप्नका लागि दाउरा तथा मुडा वितरण गरिएको हो । अत्यधिक चिसोका कारण विशेषगरी बृद्ध, बालबालिका तथा सर्वसाधारणलाई राहत मिलोस् भन्ने उद्देश्यले उक्त कार्य गरिएको प्रहरीले जनाएको छ ।
झिलमिला प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मान बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले सामुदायिक वनसँग सहकार्य गर्दै चिसोबाट जोगिन स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको हो । इन्चार्ज चन्दका अनुसार प्रहरी सीमा सुरक्षा र कानून कार्यान्वयनमा मात्र होइन, विपद् र कठिन परिस्थितिमा जनताको सेवामा समेत सधैं तत्पर रहँदै आएको छ ।
यस्तै किसान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरेन्द्र बहादुर रोकायाले बढ्दो चिसोलाई मध्यनजर गर्दै प्रहरी तथा सशस्त्र प्रहरीसँग समन्वय गरी दाउरा उपलब्ध गराउँदै आएको बताए । “चिसोका कारण कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले चोकचौराहमा आगो ताप्ने व्यवस्था मिलाइएको हो ।,”
नेपाल प्रहरीको यस मानवीय पहलप्रति स्थानीयवासीहरूले खुलेर प्रशंसा गरेका छन् । चिसो मौसममा सर्वसाधारणको पीडालाई बुझेर गरिएको यो कार्यले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाएको स्थानीयको भनाइ छ ।
चिसो बढ्दै गइरहेको वर्तमान अवस्थामा झिलमिला प्रहरीको यो उदाहरणीय कार्यले नेपाल प्रहरी जनताको साथी हो भन्ने सन्देश फेरि एकपटक पुष्टि गरेको छ ।























Discussion about this post