कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ अधिवेशन अन्तर्गत अध्यक्षदेखि सचिवसम्मका सबै प्रमुख पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । तर, कोषाध्यक्ष र ७ जना सदस्य पदमा सहमति नजुट्दा अब यी पदका लागि निर्वाचन हुने भएको छ ।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका मिनराज भट्टले उम्मेदवारी फिर्ता लिएसँगै अब सिद्धराज भट्ट र प्रदीप पालबीच प्रत्यक्ष भिडन्त हुने भएको छ । यस्तै, सदस्यतर्फ पार्वती कुमारी विष्ट (खड्का)ले उम्मेदवारी फिर्ता लिएपछि १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
सदस्यतर्फ युवा उद्यमी सरिता भण्डारी एकल महिला उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेकी छन् । अन्य उम्मेदवारहरूमा लोकराज भट्ट, गोविन्द भट्ट, जगदिशचन्द्र भट्ट, हेमराज भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देवदत्त जोशी, भोजराज अवस्थी, गंगा सिंह धामी, कृष्ण राना र सञ्जय कुमार भट्ट रहेका छन् ।
संघका अनुसार कोषाध्यक्ष र ७ सदस्य पदका लागि २ हजार १ सय २१ मतदाताले मतदान गर्नेछन् ।
मुख्य निर्वाचन कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्र प्रसाद जोशी (एनपी) निर्विरोध निर्वाचित भएका छन् । यस्तै, संस्थागत सदस्यतर्फ गजेन्द्र विक्रम थापा पनि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
संघका ६ प्रमुख पदाधिकारी पदमा सहजै सहमति जुटे पनि कोषाध्यक्ष र सदस्य पदमा सहमति हुन नसकेको विषयलाई लिएर आम व्यवसायीहरूले प्रश्न उठाउन थालेका छन् । संघको निर्वाचन आउँदो शनिबार (१९ पुस) सम्पन्न हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।























Discussion about this post