कञ्चनपुर । कञ्चनपुर-१ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस भएका कमरेड तिलक भट्ट नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवी, निरन्तर संघर्षरत र विचारमा अडिग नेता हुन्। उनको राजनीतिक जीवन कुनै आकस्मिक अवसर वा पदप्राप्तिको चाहनाबाट होइन, दशकौँ लामो संगठन निर्माण, विचारप्रतिको निष्ठा र जनताप्रतिको उत्तरदायित्वबाट निर्माण भएको छ।
वि.सं. २०२७ साल जेठ ७ गते जन्मिएका भट्टको कम्युनिष्ट चेतनाको प्रारम्भ २०४० सालतिर शिक्षक बराल सरको वैचारिक प्रभावबाट भएको हो। त्यसपछि विद्यार्थी राजनीतिमा प्रवेश गर्दै अनेरास्ववियु (पाँचौँ) बाट स्ववियु सदस्यमा निर्वाचित हुनु पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध सचेत र साहसी युवाको स्पष्ट अभिव्यक्ति थियो। यही चेतनाले २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उनलाई सक्रिय भूमिकामा उभ्यायो, जहाँ सडक संघर्ष उनको राजनीतिक संस्कारको अभिन्न अङ्ग बन्यो।
२०४७ सालपछि भट्ट संगठनात्मक जिम्मेवारीमा केन्द्रित भए। श्रीपुर, लक्ष्मीपुर र शंकरपुर क्षेत्र समेटिएको इलाका संगठन कमिटी सदस्यका रूपमा उनले पार्टी विस्तार र जनसम्पर्कमा उल्लेखनीय योगदान दिए। यसै क्रममा प्रगतिशील राष्ट्रिय युवा संघ (प्ररायु संघ) लक्ष्मीपुर गाउँ कमिटीको अध्यक्षका रूपमा युवालाई संगठित गर्ने, वैचारिक प्रशिक्षण दिने र आन्दोलनमा सक्रिय बनाउने काममा उनी अग्रसर रहे।
२०४८ सालको आम निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्दै २०४८/०९/०५ गते नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गर्नु उनको राजनीतिक यात्राको निर्णायक मोड बन्यो। २०४९ सालमा लक्ष्मीपुर गाउँ विकास समिति र कञ्चनपुर जिल्ला विकास समितिको निर्वाचन प्रक्रियामा सक्रिय रहँदै स्थानीय तहमा पार्टीको उपस्थिति सुदृढ बनाउन उनले योगदान पुर्याए। २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनी उत्तिकै सक्रिय देखिए।
२०५१ देखि २०६१ सालसम्म साविक लक्ष्मीपुर गाउँ कमिटीको संस्थापक सचिवका रूपमा कार्य गर्दै संगठन निर्माणमा उनले महत्वपूर्ण भूमिका खेले। २०५१ मंसिरमा नेकपा (एमाले) जिल्ला सल्लाहकार सदस्यको जिम्मेवारी पाउनु पार्टीभित्र उनको अनुभव, निरन्तरता र परिपक्वताको औपचारिक मान्यता थियो।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रह्यो। २०५१-२०६३ सम्म लक्ष्मी माध्यमिक विद्यालय, जवदियाको व्यवस्थापन समिति सदस्यका रूपमा शिक्षा क्षेत्रको सुधारमा उनी सक्रिय रहे। २०५३ सालमा पुष्पलाल स्मृति प्राथमिक विद्यालय, खिरियाको संस्थापक तथा व्यवस्थापन समिति अध्यक्ष बनेर उनले कम्युनिष्ट आन्दोलनको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारे।
२०५४ साल भट्टको राजनीतिक यात्राको अर्को महत्वपूर्ण मोड बन्यो। साविक लक्ष्मीपुर गाउँ विकास समितिको उपाध्यक्ष पदमा सर्वाधिक मतसहित निर्वाचित हुनु जनतासँगको भरोसा र स्वीकार्यताको स्पष्ट प्रमाण थियो। यही वर्ष नेपालगञ्जमा सम्पन्न नेकपा (एमाले) को छैटौँ महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिनु पार्टीप्रतिको निष्ठा र संगठनात्मक अनुशासनको परिचायक बन्यो।
२०५५ सालमा प्ररायु संघ कञ्चनपुरबाट राष्ट्रिय सम्मेलन प्रतिनिधि, पिपुल्स भोलिन्टियर्स महाकाली निर्देशक तथा २०५६ सालमा केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित महाकाली अञ्चलस्तरीय प्रशिक्षणमा सहभागिताले उनको वैचारिक र संगठनात्मक क्षमता अझ सुदृढ बनायो। २०५७ देखि २०६५ सालसम्म निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्यका रूपमा उनले पार्टी-जनसम्पर्क र निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
तर २०६५ देखि २०७७ सम्मको अवधि उनको राजनीतिक जीवनको सबैभन्दा कठिन चरण रह्यो। आन्तरिक गुटबन्दी र संरचनागत अवरोधका कारण औपचारिक जिम्मेवारीबाट टाढा रहनुपरे पनि उनले सिद्धान्त, विचार र आन्दोलनप्रतिको निष्ठामा कहिल्यै सम्झौता गरेनन्। जिम्मेवारी नहुँदा पनि आन्दोलनलाई धोका नदिने अडान नै उनको राजनीतिक चरित्रको मूल पहिचान बन्यो।
करिब बाह्र वर्षपछि, २०७८ सालमा उनी पुनः सक्रिय राजनीतिमा फर्किए। २०७८-२०८१ सम्म नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यका रूपमा प्रदेशस्तरीय राजनीतिमा योगदान पुर्याए। सोही वर्ष सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीका स्वकीय सचिवका रूपमा कार्य गर्दै उनले नीतिगत र कार्यकारी अनुभवसमेत हासिल गरे।
सामाजिक क्षेत्रमा पनि उनको सक्रियता निरन्तर रह्यो। २०७८ सालमा विराट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षका रूपमा काम गर्दै नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवामूलक नेतृत्व प्रदान गरे। २०८१ असारमा नेकपा (एस) को दशौँ महाधिवेशन प्रतिनिधि चयन हुनु उनको सक्रियताको अर्को प्रमाण हो। हाल २०८१-२०८२ मा नेकपा (एस) केन्द्रीय लेखा परीक्षण आयोग सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजकका रूपमा पार्टीभित्र पारदर्शिता, अनुशासन र संस्थागत सुदृढीकरणमा योगदान दिइरहेका छन्।
पछिल्लो समय नेकपा (एस), नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट शक्तिहरूको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा उनी सक्रिय सदस्यका रूपमा क्रियाशील छन्।
विद्यार्थी राजनीतिदेखि स्थानीय सरकार, संगठन निर्माणदेखि प्रदेशस्तरीय जिम्मेवारीसम्म फैलिएको तिलक भट्टको राजनीतिक यात्राले स्पष्ट सन्देश दिन्छ,कम्युनिष्ट राजनीति पद र सत्ताको खोजी मात्र होइन; यो निरन्तर संघर्ष, संगठन र जनताप्रतिको उत्तरदायित्वको अभ्यास हो। यही प्रतिबद्धतामा नै आन्दोलनको वास्तविक शक्ति निहित छ।























Discussion about this post