बहुमतको निर्णयमा विद्रोह गर्न सकिनँ डा. शेखर कोइराला

काठमाडौं :नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग आफू सहमत भए पनि केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर अघि बढ्न नसकिएको बताएका छन् ।

शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेता–कार्यकर्ताहरूसँग भएको छलफलमा उनले पार्टीको निर्णय प्रक्रियामा बहुमतको निर्णय मान्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेका हुन् ।

‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ,’ छलफलमा सहभागी एक नेताले कोइरालालाई उद्धृत गर्दै भने, ‘तर केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतबाट भएको निर्णय मान्नै प¥यो । त्यसमा विद्रोह गरेर जान सकिएन ।’

नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधन गर्न केन्द्रीय कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् । ‘मैले कार्यसमितिलाई बुझाउने प्रयास गरेँ, तर सफल भएन,’ उनको भनाइ उद्धृत गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार बहुमतबाट १५ औँ महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो । सो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले फरक मत राखेका थिए । बैठकपछि महामन्त्री थापाले विशेष महाधिवेशन नबोलाइए पुसभित्रै आफूहरूले डाक्ने चेतावनी दिएका थिए ।

यसअघि डा. कोइरालाले पनि पुसभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए । शनिबारको छलफलमा उनले पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि संवाद प्रक्रिया सुरु गरेको जानकारी पनि दिएका छन् । ‘सोलुसन दिन संवाद सुरु गरेको हुँ,’ उनले भने ।

केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार कोइरालाले आइतबार विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका नेताहरूसँग पुनः छलफल गर्ने तयारी गरेका छन् । शनिबारको छलफलमा अभियानमा संलग्न देवराज चालिसे, उज्वल बराल, दिक्पालबहादुर शाही, कालिबहादुर सहकारीलगायत नेताहरूको सहभागिता थियो ।

अभियानमा संलग्न नेताहरूले कोइरालालाई विशेष महाधिवेशनको अपनत्व लिन र पार्टीको शीर्ष नेतृत्व तथा महामन्त्रीहरूबीच सहमति गराउन पहल गर्न आग्रह गरेको बताएका छन् । ‘तपाईं बीचमा रहेर सबैलाई मिलाउनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो,’ नेता शाहीले भने ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार मुलुकमा देखिएको संकट, पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरण र विशेष महाधिवेशनसम्बन्धी विषयमा समन्वय कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।

कांग्रेस दोलखाका सभापति बर्मा लामाले पनि डा. कोइरालाले पछिल्लो राजनीतिक परिस्थितिबारे राय–सुझाव लिन छलफल आयोजना गरेको प्रतिक्रिया दिए । ‘दुवै पक्षलाई प्याचअप गर्नुपर्छ भन्ने निष्कर्षमा छलफल केन्द्रित भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित