बेलडाँडीमा वागेश्वरी बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा सम्पन्न

बेलडाँडी । बेलडाँडी गाउँपालिका-४ मा अवस्थित वागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष तथा सभाध्यक्ष दुर्गा रोकायाले संस्थाले आर्थिक अनुशासन, पारदर्शिता र सदस्यको हितलाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आएको बताउनु भयो।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभामा संस्थाको आय-व्यय विवरण, वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनामाथि व्यापक छलफल गरिएको थियो। सहकारीले स्थानीय किसानलाई प्राथमिकतामा राख्दै कृषि कर्जा, उत्पादन प्रवर्द्धन तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको विषयमा सभामा गहन छलफल भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले सहकारीले किसानमुखी कार्यक्रममार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले सहकारी र किसानबीचको सहकार्य अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। सहकारीको भवन निर्माणका लागि पालिकाले सक्ने सहयोगका लागि छलफल भइरहेको जनाउनु भयो ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथि वडा नं ५ का अध्यक्ष ईन्द्र ब खडकाले सहकारीको प्रगतिको कामना दिदै सहकारी उपभोक्ताको हितमा हुनुपर्नेमा जोडदिनु भयो ।
सभाको अवसरमा विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूले सहकारीले ग्रामीण समुदाय, विशेषगरी किसान वर्गको जीवनस्तर उकास्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

संस्थाका लेखा समिति संयोजक कर्ण बुढा र संस्थाका सदस्य सचिव नरेन्द्र भण्डारीले प्रस्तुत गरेको आ.व. २०८१/०८२ सम्मको प्रगति विवरण अनुसार सहकारीको शेयर पूँजी ४३ लाख ३२ हजार ८ सय रुपैयाँ पुगेको जनाए ।

यस्तै जगेडा कोष १९ लाख ३१ हजार ४८९ रुपैयाँ र अन्य कोष १८ लाख ३७ हजार ६३५ रुपैयाँ रहेको छ। सहकारीको स्थिर सम्पत्ति १ करोड ८ हजार ५५० रुपैयाँ पुगेको छ।
त्यसैगरी, बचत संकलन २ करोड २७ लाख ४१ हजार ९५८ रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ करोड ७८ लाख ३२ हजार ७२५ रुपैयाँ रहेको छ। सहकारीले आ.व. २०८१/०८२ मा ८ लाख ७८ हजार ४७३ रुपैयाँ शुद्ध नाफा आर्जन गरेको छ भने शेयर सदस्यलाई ११.०८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

प्रगति प्रतिवेदन अनुसार सहकारीको शेयर सदस्य संख्या गत आर्थिक वर्षको १,३५६ जनाबाट वृद्धि भई हाल १,३९२ जना पुगेको छ, जसमा ३६ जना नयाँ सदस्य थपिएका छन्। शेयर पूँजी गत वर्षको तुलनामा ७ लाख ३५ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ।

बचत संकलनमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। गत वर्ष १ करोड ६९ लाख ४ हजार ५७९ रुपैयाँ रहेको बचत संकलन यस वर्ष २ करोड २७ लाख ४१ हजार ९५८ रुपैयाँ पुगेको छ। कर्जा लगानीतर्फ पनि गत वर्षको तुलनामा ८४ लाख २६ हजार ९१५ रुपैयाँले वृद्धि भएको सहकारीले जनाएको छ।

यसैगरी, सहकारीको कुल आर्थिक कारोबार गत वर्षको ५ करोड ८१ लाख ४९ हजार ३१९ रुपैयाँबाट वृद्धि भई यस आर्थिक वर्ष ६ करोड ३० लाख ४० हजार ६४४ रुपैयाँ पुगेको छ।

स्थापनाकालदेखि नै किसान, स्थानीय र सदस्यको आर्थिक सशक्तीकरणलाई मूल उद्देश्य बनाउँदै आएको वागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी दिनमा पनि कृषि, उद्यमशीलता र सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सेयर सदस्य, शिक्षक बुद्धिजीवी लगायत स्थानीयको उल्लेख्य उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित