बेलडाँडी । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढी ले बेलडाँडी गाउँपालिका वडा नं. ४, कञ्चनपुर मा रहेको वागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लाई सहकारी ऐन, नियमावली तथा संस्थाको विनियमावलीको परिधिभित्र रहेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
सहकारीको २१ औँ वार्षिक अधिवेशनमा विधानअनुसार कार्यसमिति चयन नभएको भन्दै निवर्तमान अध्यक्ष दुर्गा रोकाया सहित पाँच जना सदस्यले अनियमितता भएको आरोपसहित कार्यालयमा निवेदन दिएपछि रजिष्ट्रार कार्यालयले उक्त पत्राचार गरेको हो।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका तर्फबाट मोहन देव अवस्थी (आधिकृत–प्रशासन) द्वारा हस्ताक्षरित पत्रमा सहकारी ऐन २०७४, नियमावली २०७५ तथा संस्थाको विनियमावलीअनुसार मात्र सहकारी सञ्चालन गर्न गराउन जानकारी गराइएको उल्लेख छ।
निवेदनकर्ताहरूका अनुसार खुल्ला सत्र सम्पन्न भएपछि बन्द सत्रमा प्रस्तुत प्रस्तावअनुसार कार्यसमिति विघटन गरी नयाँ समिति चयन गर्दा सहकारी ऐन २०७४, संस्थाको विधान तथा निर्वाचन नीति विपरीत प्रक्रिया अपनाइएको थियो। त्यसप्रति आफूहरूको कुनै सहमति नरहेको जनाउँदै उनीहरूले सहकारी निर्वाचन मण्डल र सम्बन्धित निकायहरूमा समेत लिखित उजुरी दिएका छन्।
उनीहरूले स्पष्ट रूपमा सहकारी ऐन २०७४ को दफा ४१(३) तथा निर्वाचन नीति दफा १० को (ग) र (झ) अनुसार मात्रै समिति गठन हुनुपर्ने माग अघि सारेका छन्।
यता, यही पौष १९ गते केही सहकारीका व्यक्तिहरूले सहमतिमै नयाँ कार्यसमिति चयन भएको दाबी गरे पनि त्यसलाई निवर्तमान अध्यक्ष दुर्गा रोकाया लगायतले अस्वीकार गर्दै नियमानुसार समिति चयन नभएको ठहर गरेका छन्।
धनगढीस्थित सहकारी रजिष्ट्रार कार्यालयको स्पष्ट पत्राचारपछि वागेश्वरी बहुउद्देश्यीय सहकारीको समिति गठन प्रक्रिया झनै विवादित बनेको छ। अब सहकारी ऐन तथा विधानअनुसार समस्या समाधान हुने कि नहुने भन्ने विषय चासोको केन्द्र बनेको छ।























Discussion about this post