अभावको अँगालोमा हुर्किँदै गरेकी डडेलधुराकी ७ बर्षिया ललिताको उज्यालो सपना

डडेलधुराको आलिताल गाउँपालिका-३, किमोडी । पहाडको काखमा बसेको शान्त गाउँ । बिहान कुहिरो ओढेर उठ्ने यो ठाउँमा हरेक घरसँग आफ्नै कथा छ, कसैको खुसी, कसैको पीडा । यही गाउँको एउटा सानो घरमा बस्छिन्, सात वर्षकी नानी ललिता कोट्टारी ।

ललिताको जीवनकथा सुरु हुन्छ, तर दुःखको अध्यायसँगै । उनी यो धर्तीमा जन्मनुअघि नै उनका बुवाको सास थामिएको थियो। गम्भीर बिरामीले थला पारेका बुवाले आफ्नी छोरीको अनुहारसम्म देख्न पाउनुभएन । ललिता संसारमा आउनु अघि नै टुहुरी भइन् । त्यो बेला उनकी दिदी मनिषा मात्र तीन वर्षकी थिइन्, बुवाको हात समाउन नपाउँदै जीवनको कठोरता सम्हाल्न बाध्य एक सानी बालिका ।

बुवाको मृत्युपछि घर सुनसान बन्यो । आँगनमा हाँसो हरायो । आमाको मनमा पीडाको पहाड खडा भयो । समय बित्दै गयो, तर परिस्थितिले सहज बाटो देखाएन । अन्ततः व्यक्तिगत र पारिवारिक विवशताले गर्दा आमाले पनि ती दुई नानी र १ छोरालाई छोडेर अन्तै जानुपर्ने निर्णय गर्नुभयो । त्यो दिन सायद मनोज, मनिषा र ललिताले बुझेनन्, “आमा किन जानुभयो ?”
तर उनीहरूको बालमनले एउटा कुरा पक्कै महसुस ग¥यो, अब संसार झन् ठूलो र डर लाग्दो भएको छ । सानै उमेरमा जीवनले उनीहरूलाई बेसहारा बनाइदियो ।

आज दाइ मनोज, मनिषा र ललिता आफ्ना ठूला आमाबुवासँग बस्छन् । माया छ, तर साधन छैन । ठूलो बुवाले आफ्नो कमजोर आर्थिक अवस्थामै यी दुई फूलजस्ता नानीलाई जोगाइरहनुभएको छ । बिहान के पकाउने, भोलि कसरी चलाउने, यही चिन्तामा उहाँको दिन बित्छ ।

तर यी सबै अभावका बीच पनि, ललिता हरेक बिहान विद्यालय जान तयार हुन्छिन् । सानो शरीर, अलि ठूला च्यातिएका झोला । च्यातिन लागेको चप्पल तर आँखामा चम्किलो आशा छ ।

ललिता अहिले श्री ब्रह्मचारी प्राथमिक विद्यालय, किमोडीमा कक्षा २ मा पढ्छिन् । उनकी दिदी मनिषा यही विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् र उनका दाइ मनोज कक्षा ७ मा उणिकोट मावि मा अध्ययनरत छन्। कक्षाकोठामा बस्दा उनीहरू अरू बालबालिकाजस्तै देखिन्छन्, कापी खोल्छन्, गुरुको कुरा ध्यान दिएर सुन्छन् । तर नजिकबाट हेर्दा थाहा हुन्छ, यी आँखाहरूले उमेरभन्दा धेरै दुःख देखिसकेका छन् ।

कहिलेकाहीँ कक्षामा “बुवा–आमा” भन्ने शब्द आउँदा ललिताको नजर भुइँतिर झुक्छ । उनी बोल्दिनन्, तर मौनता नै उनको कथा सुनाइरहेको हुन्छ । सायद उनी पनि अरू साथीहरूजस्तै बुवाको काँधमा बसेर खेल्न चाहन्थिन् । सायद आमाको हात समातेर विद्यालयसम्म पु¥याइदिएको सपना देख्थिन् । तर ललिताको जीवनले उसलाई चाँडै बलियो बनायो । राज्य भन्छ, शिक्षामा शतप्रतिशत गुणस्तर चाहियो । तर ललिता जस्ता बालबालिकाका लागि गुणस्तर भनेको खाली किताब होइन ? गुणस्तर भनेको सुरक्षा हो, गुणस्तर भनेको माया हो, गुणस्तर भनेको जीवन बाँच्ने आधार हो ।

यदि राज्यले ललिता र मनिषाजस्ता अनाथ, टुहुरा र बेसहारा बालबालिकालाई प्राथमिकतामा राख्यो भने, आजको आँसु भोलिको मुस्कान बन्न सक्छ । सहयोग पाए, अवसर पाए, ललिताको सानो सपना ठूलो उज्यालो बन्न सक्छ ।

आज उनी सात वर्षकी मात्र छिन् । तर उनका काँधमा जीवनका धेरै जिम्मेवारी छन् । तर पनि उनी हार मान्दिनन् । कापी समातेर भविष्य लेख्ने प्रयास गरिरहेकी छिन् ।

ललिता कुनै दयाको पात्र मात्र होइनन् । उनी सम्भावनाको प्रतीक हुन् । उनी आशाको नाम हुन् । यो कथा केवल ललिताको होइन, यो कथा ती सबै बालबालिकाको हो, जो अभावमा जन्मिए तर सपनामा धनी छन् ।

विद्यालयका प्रधानाध्यापक केशवबहादुर साउदले मनिषा र ललिताको तस्वीर सामाजिक सञ्जालमा राखेपछि धेरैले उनीहरूबारे चासो मात्र राखेका छैनन की उनीको उज्जल भविश्यको लागि आर्थिक समेत सहयोग गरिरहेका छन् ।

मनिषा र ललिताजस्ता बालबालिका राज्यको विशेष प्राथमिकतामा पर्नुपर्ने प्रअ साउद बताउछन् । सरकारले बिद्यालय शिक्षामा सत प्रतिशत गुणस्तर खोज्छ तर बिद्यार्थीका ब्यक्तिगत,पारिवारिक र सामाजिक समस्याको समाधान खोज्नुपर्ने बताउछन् । राज्यले यस्ता अनाथ टुहुरा तथा बेसहारा बालबालिकाहरुलाई प्राथमिकतामा राख्नु जरुरी देखिएको उहाँको भनाई छ ।

उनीहरूलाई तल राखिएको प्रअ साउदको मार्फत् सहयोग गर्न सकिन्छ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित