“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित पुनर्वासमा छैठौं राष्ट्रपति रनिङशिल्ड सुरु

धनबहादुर बिक/कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित स्थानीय तह स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आइतबारदेखि सुरु भएको छ।

पुनर्वास नगरपालिका-६ स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा विविध कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो। पुनर्वास नगरपालिकाका २६ माध्यमिक विद्यालयमध्ये २० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले फरक-फरक पोसाकमा मार्चपास र मशाल दौड प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक मार्चपासलाई पुनर्वास नगरपालिका प्रमुख तोयप्रसाद शर्माले सलामी दिनुभएको थियो।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख शर्माले खेलकुद मानव जीवनका लागि अनिवार्य विषय भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले ओझेलमा परेका प्रतिभावान खेलाडीलाई अगाडि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। खेलकुद तथा समग्र क्षेत्रको विकासका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुनर्वासको पहिचान स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, नगरस्तरीय मावि तहका प्रधानाध्यापक मानबहादुर तामाङले खेलाडीमा अनुशासन अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा जिल्ला विकास समितिमार्फत सहभागी विद्यालयलाई उपलब्ध हुँदै आएको १० हजार रुपैयाँ सहयोग नगरपालिका स्थापना पश्चात कटौती हुँदा कार्यक्रम सञ्चालनमा विद्यालयलाई कठिनाइ हुने गरेको गुनासो समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर ऐरीले पुनर्वासले यसअघि नै राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी खेलाडी राष्ट्रिय स्तरमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका आयोजक विद्यालय जीवन ज्योति माविका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव भरतकुमार बस्नेतले सम्पूर्ण खेलाडीलाई अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न अनुरोध गर्नुभयो।

जीवन ज्योति माविका प्रधानाध्यापकको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरस्तरीय खेलकुद विकास समिति सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक-शिक्षिका, समाजसेवी, खेलप्रेमी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

आइतबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ २० गते समापन हुने छ। प्रतियोगितामा भलिबल, कबड्डी (छात्र/छात्रा) तथा एथलेटिक्स लगायतका खेलहरू समावेश छन्। कार्यक्रम सञ्चालन जीवन ज्योति माविका शिक्षक युवराज सुयेलले गर्नुभएको थियो भने मार्चपास तथा खेल सञ्चालन गौरी शंकर माविका शिक्षक दीर्घराज घिमिरे र पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित