बेलडाँडी । सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पूर्व सांसद तारालामा तामाङले छोटो समयमै कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकासका ठोस आधार निर्माण गरेको एमाले स्रोतद्वारा जनाइएको छ। प्रदेश सरकारमा करिब सात महिनाको कार्यकाल र संघीय सांसदको जिम्मेवारी वहन गरेका क्रममा उनले क्षेत्रका दीर्घकालीन आवश्यकतालाई ध्यानमा राख्दै योजनाहरू अघि बढाएको बताइएको छ।
बेलडाँडी, बेलौरी, लालझडी तथा पुनर्वास नगरपालिकामा सडक, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि तथा खानेपानी जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ। शिक्षा क्षेत्रमा चारवटै पालिकाका विद्यालयमा भौतिक संरचना विस्तार तथा भवन निर्माण कार्य अगाडि बढाइएको उल्लेख गरिएको छ। भवन अभाव भएका विद्यालयहरूमा क्रमागत रूपमा नयाँ संरचना निर्माण गरी शैक्षिक वातावरण सुधार गर्ने प्रयास गरिएको बताइएको छ।
युवालाई लक्षित गर्दै खेल मैदान निर्माण, तारजाली व्यवस्थापन तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनमार्फत खेल क्षेत्रलाई व्यवस्थित बनाउने पहल गरिएको जनाइएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चारवटै पालिकामा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत दोदापुलदेखि कम्पनी डाँडासम्मको सडक १६ करोड रुपैयाँमा ठेक्का प्रक्रिया अगाडि बढाइएको बताइएको छ। यस्तै, पुनर्वास-९ बिचफाँटा जिरोप्वाइन्टदेखि गोविन्द गौतम पार्क, कोटीहोम फटिया हुँदै बेलौरी भन्सारसम्म जोड्ने बोर्डर करिडोर सडक ६८ करोड रुपैयाँमा ठेक्का भए पनि प्रदेश सरकारले समयमै सदर नगर्दा बजेट फ्रिज भएको जनाइएको छ। तथापि, अधुरा योजनालाई निरन्तरता दिँदै कोटीहोम हुँदै धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र भकुण्डासम्म सडक निर्माणलाई गति दिइएको उल्लेख गरिएको छ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणका लागि विभिन्न समुदायका मठ, मन्दिर, गुम्बा तथा चर्चको भौतिक संरचना निर्माणमा बजेट विनियोजन भई कार्य सम्पन्न गरिएको जनाइएको छ। कृषि क्षेत्रमा साना सिँचाइ आयोजना, डिप बोरिङ तथा बोरिङ इन्जिनमार्फत सिँचाइ सुविधा विस्तार गरिएको बताइएको छ। साथै अधुरा खानेपानी योजनालाई पूर्णता दिँदै नागरिकको घरदैलोमा पानी पु¥याउने प्रयास गरिएको उल्लेख गरिएको छ।
संघीय सांसद रहँदा तामाङले कञ्चनपुर–१ का विकास र सीमा समस्याका विषय संसदमा निरन्तर उठाएको जनाइएको छ। छोटो कार्यकाल भए पनि सक्रियता र विकासप्रति प्रतिबद्धताका कारण स्थानीयस्तरमा सकारात्मक मूल्यांकन भइरहेको उल्लेख गरिएको छ।
आगामी दिनमा अधुरा तथा अपुरा योजनालाई पूर्णता दिन पुनः जनमतको अपेक्षा राख्दै तामाङ घरदैलो अभियानमा जुटेको जनाइएको छ। जनताको विश्वास र समर्थन प्राप्त भए विकास निर्माणका कार्यलाई अझ तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।




















Discussion about this post