बेलडाँडीमा ढुङ्गा प्रहार प्रकरण : आरोप-प्रत्यारोपबीच यथार्थ खोज्दै प्रहरी अनुसन्धानमा

बेलडाँडी । बेलडाँडी गाउँपालिका-४ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सम्पर्क कार्यालयमा हिजो राति ढुङ्गा प्रहार र झण्डा च्यातचुत गरिएको घटनापछि स्थानीय राजनीति तातेको छ । घटनामा “रास्वपा जिन्दावाद” भन्ने नारा लगाइएको दाबी गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एमालेबीच आरोप-प्रत्यारोप सुरु भएको हो ।

एमाले बेलडाँडी गाउँकमिटी सचिव शंकर दत्त भट्टले आफ्नो फेसबुक स्टाटस जारी गर्दै रास्वपा कार्यकर्ताबाट आक्रमण भएको दाबी गरेका छन् । उनले लोकतान्त्रिक प्रतिस्पर्धामा उत्रन आह्वान गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।

यता रास्वपाले भने आफ्नो कुनै कार्यकर्ताबाट यस्तो गतिविधि नभएको स्पष्ट पारेको छ । रास्वपा सभापति तेजसिंह धामीले भन्नु भयो, पार्टीले अराजक गतिविधि गर्ने जो-कोहीमाथि कानुनी कारबाही गर्न प्रशासनसँग माग गर्दै सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छन् । चुनाव विथोल्न यस्ता गतिविधी जो चुनावको नतिजा हार देखिरहेको छ त्यसैबाट भएको हुन सक्ने उहाँको आरोप छ ।

स्थानीय बासिन्दाका अनुसार ढुङ्गा प्रहार गर्ने समूहले “रास्वपा जिन्दावाद” नारा लगाएको सुनिएको थियो । तर ती व्यक्तिहरू वास्तविक रूपमा रास्वपा कार्यकर्ता हुन् वा कसैले घुसपैठ गरी भ्रम सिर्जना गर्न खोजेको हो भन्ने विषयमा अझै स्पष्टता आएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ, रास्वपा जिन्दाबाद भनेको घर कार्यालय भएको घरबेटीले प्रहरीलाई भनेको तर पहिचना नखुलेको जनाएका छन् ।

देशभर बढ्दो राजनीतिक ध्रुवीकरण र चुनावी सरगर्मीबीच यस्ता घटनाले थप संशय पैदा गरिरहेका छन् । रास्वपाप्रति देखिएको जनलहरले पुराना दलहरूलाई असहज बनाएको आरोप समेत सार्वजनिक बहसमा छ । यद्यपि लोकतन्त्रमा आरोपभन्दा प्रमाण बलियो हुने भएकाले, घटनाको निष्पक्ष अनुसन्धान र तथ्यमा आधारित निष्कर्ष नै अहिलेको आवश्यकता देखिन्छ ।

लोकतान्त्रिक प्रतिस्पर्धा विचार र मतको आधारमा हुनुपर्छ, नकि ढुङ्गा र झण्डा च्यातचुतका माध्यमबाट । सत्य जे भए पनि, दोषी जो-कोही भए पनि कानुनको कठघरामा उभिनुपर्छ । यही नै स्वस्थ राजनीतिका लागि अनिवार्य शर्त हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित