संसदमा सबै भन्दना बढी मुद्दा उठाउने सांसद हुन तामाङ, अधुरा योजना पूरा गर्ने अठोट

बेलडाँडी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । प्रतिनिधिसभा विघटनपछि पुनः निर्वाचनको अवस्थामा पुगेको यो क्षेत्र यतिबेला राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रमुख दलहरू प्रचार-प्रसार र संगठन परिचालनमा जुटिरहेका बेला तारा लामा तामाङ मतदातामाझ सक्रिय रूपमा पुगिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तामाङका लागि आसन्न निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई आफ्नो राजनीतिक विरासत जोगाउने परीक्षा समेत बनेको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनलाई पराजित गर्दै विजयी भएका तामाङ यसपटक पनि जितलाई निरन्तरता दिने रणनीतिमा केन्द्रित छन्।

उनले छोटो कार्यकालमै संसद्मा जनताका मुद्दा सशक्त रूपमा उठाएको दाबी गर्दै आफू क्षेत्र नं. १ बाट सबैभन्दा बढी आवाज उठाउने प्रतिनिधि भएको उल्लेख गर्छन्। “संसद् विघटनका कारण धेरै योजना अधुरा छन्। ती काम पूरा गर्न फेरि जनमत चाहिएको छ,” तामाङको भनाइ छ।

२०७९ सालको निर्वाचनमा तामाङले २४ हजार ९४३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी बिना मगरले १९ हजार ४०० मत ल्याएकी थिइन्। यसपटक कञ्चनपुर–१ मा बिना मगरसहित कांग्रेसका गोपी प्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी लगायत १९ जना उम्मेदवार मैदानमा छन्।

तामाङका अनुसार कञ्चनपुरमा महाकाली नदीभन्दा पनि दोदा नदी नियन्त्रण प्रमुख चुनौती हो। चुरे पर्वतदेखि भारत सीमासम्म फैलिएको करिब ४३ किलोमिटर लामो दोदा नदीबाट हुने कटान र डुबान समस्यालाई दीर्घकालीन समाधान गर्न गुरुयोजना अघि बढाइएको उनले बताए।

यसैगरी चौधर र झरना खोला नियन्त्रण, सीमा समस्या समाधान, लागुऔषध नियन्त्रण, आरक्ष विस्थापित तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा पहल सुरु गरिसकेको उनको दाबी छ।

दक्षिण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, अधुरो बोर्डर करिडोर पूरा गर्ने तथा स्थानीय उद्योग, विशेषगरी चिनी मिल मार्फत रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन्।

व्यक्तिगत एजेन्डाभन्दा माथि उठेर पार्टीको राष्ट्रिय दृष्टिकोण ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई मार्गदर्शन मानेर अघि बढ्ने तामाङको प्रतिबद्धता छ । चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा कञ्चनपुर–१ मा तामाङको सक्रियता र एजेन्डाले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित