एक दशकपछि प्रतिनिधित्वको दौडमा काँग्रेस, उपाध्यायमा केन्द्रित विश्वास

बेलडाँडी । कञ्चनपुर क्षेत्र नं. १ मा करिब एक दशकपछि प्रतिनिधि सभामा पुनः बलियो उपस्थिति जनाउने लक्ष्यसहित गोपी प्रसाद उपाध्याय लाई उम्मेदवार बनाउँदै नेपाली काँग्रेस ले चुनावी दौडलाई रोचक बनाएको छ।

२०७० सालको संविधान सभा निर्वाचनमा दिवान सिंह बिष्टपछि क्षेत्रबाट प्रतिनिधित्वको प्रतिस्पर्धामा काँग्रेसले यसपटक युवा, सक्रिय र संगठनमा दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका उपाध्यायलाई अघि सारेको हो। विद्यार्थी राजनीतिबाट पार्टीभित्रको लामो यात्रा तय गरेका उपाध्याय संगठन निर्माण र कार्यकर्ता व्यवस्थापनमा दक्ष नेताका रूपमा परिचित छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने सन्देश गएको विश्लेषण गरिँदै आएको छ। यही परिवेशमा उपाध्यायको उम्मेदवारीलाई संगठनभित्र सकारात्मक रूपमा हेरिएको छ।

उम्मेदवारी घोषणाकै दिन उपाध्यायले “म जनताको नोकर हुँ, काम गरेर देखाउनेछु” भन्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई सेवा र परिणाममुखी राजनीतिमा केन्द्रित गर्ने स्पष्ट संकेत दिएका थिए।

चुनावी माहोल तातेका बेला उपाध्याय विभिन्न भेटघाट, घरदैलो र कार्यकर्ता समन्वयमार्फत संगठनलाई एकढिक्का बनाउँदै अघि बढिरहेका छन्। काँग्रेसभित्र विगतका मनमुटावलाई चिर्दै “पार्टी एकताबद्ध छ” भन्ने दाबी गर्दै उनले आफू जित्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

क्षेत्रमा देशव्यापी ‘घण्टी’को प्रभाव र नयाँ शक्ति उदयले चुनावी समीकरणलाई थप रोचक बनाएको छ। यस्तै, पूर्व प्रदेश मन्त्री तारालामा तामाङ तथा पूर्व संघीय मन्त्री बिना मगर जस्ता अनुभवी नेताहरूको प्रभावले पनि मतदाताको निर्णयमा कति असर पार्छ भन्ने चासो छ।

तर काँग्रेस वृत्तमा भने उपाध्यायको उम्मेदवारीलाई संगठन सुदृढीकरण, युवा नेतृत्व र स्वच्छ छविको संयोजनका रूपमा हेरिएको छ।

आगामी निर्वाचन परिणामले कञ्चनपुर-१ मा काँग्रेसले पुनः आफ्नो प्रभाव स्थापित गर्न सफल हुन्छ कि हुँदैन भन्ने स्पष्ट पार्नेछ। अहिलेका लागि भने गोपी प्रसाद उपाध्याय आत्मविश्वासका साथ जनताको मत माग्दै चुनावी मैदानमा सक्रिय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित