काठमाडौँ : पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले आइतबार विरोधपत्र बुझाएको हो। सोही कार्यक्रमअन्तर्गत एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत पनि विरोधपत्र बुझाउने जनाएको छ।
पार्टीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग प्रति असहमति जनाउँदै उक्त आयोगको औचित्यमाथि प्रश्न उठाएको छ। एमालेले निष्पक्ष र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
यसैबीच, ओली पक्राउपछिको विकसित राजनीतिक अवस्थाबारे संसदमा रहेका विभिन्न दलहरूसँग संवाद अघि बढाउने र सामूहिक प्रतिवादको कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पार्टीले नेताहरू विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्ट लगायतलाई दिएको जनाएको छ।
एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ।





















Discussion about this post