कांग्रेसद्वारा कार्की आयोग प्रतिवेदन अध्ययन गर्न समिति गठन

काठमाडौँ : नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी पार्टीलाई राय–सुझाव दिन अध्ययन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिलाई पूर्णता दिइएको हो ।

समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् ।

उक्त समितिलाई कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन सात दिनभित्र कांग्रेसको केन्द्रीय कार्यालयमा पेस गर्ने जिम्मेवारी दिइएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।

सो आयोगले फागुन २३ गते सरकारलाई प्रतिवेदन बुझाएको भए पनि सरकारले हालसम्म सार्वजनिक गरेको छैन । यद्यपि, उक्त प्रतिवेदन सञ्चारमाध्यममार्फत सार्वजनिक भई व्यापक रूपमा फैलिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित