काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विरोध कार्यक्रममा सहभागी भएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै २० वर्षीया अमिशा पराजुलीले दिएको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी साइबर ब्युरो का अनुसार फेसबुकमा अश्लील कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका–२ का २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरिएको हो । साइबर ब्युरोका एसपी दिलीप कुमार गिरी ले उनलाई रौतहटबाट पक्राउ गरी काठमाडौँ ल्याइएको जानकारी दिए ।
उनका अनुसार आइतबार अदालतबाट ५ दिनको म्याद लिएर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक सोधपुछका क्रममा चौधरीले आफूले उक्त कमेन्ट गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, अमिशामाथि यौन हिंसाजन्य टिप्पणी गर्ने अन्य व्यक्तिहरूको विवरण समेत माग गरिएको र त्यसका लागि Meta Platforms सँग समन्वय भइरहेको साइबर ब्युरोले जनाएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा भएको प्रदर्शनमा सहभागी भएकै कारण आफूमाथि डिजिटल यौन हिंसा भएको भन्दै अमिशाले चैत १८ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।






















Discussion about this post