रास्वपाको केन्द्रीय समिति बैठक सोमबार, पदाधिकारी मनोनयनदेखि विधान संशोधनसम्मका ९ एजेण्डा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको ९ बुँदे कार्यसूची तय गरेको हो। बैठकमा पार्टी गतिविधिबारे ब्रिफिङ हुने, केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्ने र करिब २० जना सदस्यलाई २–२ मिनेट बोल्ने समय दिइने बताइएको छ।

भोलिको बैठकको मुख्य एजेण्डामा केन्द्रीय समिति पदाधिकारी मनोनयन, पहिलो महाधिवेशन कार्यविधि मसौदामाथि छलफल तथा विधान संशोधनका विषयहरू रहेका छन्। रास्वपामा ‘वरिष्ठ नेता’ पद व्यवहारमा रहे पनि विधानमा स्पष्ट व्यवस्था नभएकाले त्यसबारे पनि निर्णय गरिनेछ। विशेषतः बालेन शाह समूह समाहित हुँदा दिइएको वरिष्ठ नेताको पदलाई विधानमै समेट्ने विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी स्थानीय तहका उम्मेदवार क्लब गठन तथा आवेदन आह्वान, प्रवासमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्था र त्यसका कानुनी पक्षबारे पनि बैठकमा विचार(विमर्श हुनेछ।

बैठकमा सचिवालयका निर्णय अनुमोदन, विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमाथि छलफल, विषयगत विभागका योजना तथा नीति मन्थनसम्बन्धी एजेण्डा पनि समेटिएका छन्।

यसैबीच संसदीय दलको विधान संशोधन पनि बैठकको अर्को महत्वपूर्ण विषय बनेको छ। हाल संसदीय दलमा एक मात्र सचेतक रहने व्यवस्था भए पनि व्यवहारमा दुई जना प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल राखिएको अवस्थामा त्यसलाई वैधानिकता दिने तयारी गरिएको रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित