कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल बीचबाट चुँडिएपछि आवतजावत ठप्प भएको छ।
स्थानीयका अनुसार मंगलबार रातिदेखि नै पुलको एक भाग आफ्नो सतहभन्दा माथि उठेको देखिएको थियो। बुधबार बिहान करिब ८ बजेतिर पुलको बीच भाग अचानक चुँडिएपछि पुलमा आवतजावत पूर्ण रूपमा रोकिएको हो।
पुलको बीच भागमा रहेको एउटा पिल्लरसमेत हराएको स्थानीयले बताएका छन्। पुल चुँडिनुको कारण भने तत्काल स्पष्ट हुन सकेको छैन। घटनाबारे सम्बन्धित निकायले आवश्यक प्राविधिक जाँच तथा निरीक्षण गर्नुपर्ने देखिएको छ।
महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुलले भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिकाबीचको आवतजावतलाई सहज बनाउँदै आएको थियो। पुल सञ्चालनमा आएपछि स्थानीयको दैनिक आवतजावतसँगै दोधारा-चाँदनी क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेको थियो।
पुल हेर्न तथा महाकाली नदीको दृश्य अवलोकन गर्न हरेक वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकको आवागमन बढेसँगै पुल आसपासका स्थानीय पसल, व्यवसाय तथा ठूला होटलसमेत सञ्चालनमा आउँदा स्थानीयको रोजगारी र आम्दानीमा समेत टेवा पुगेको थियो।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा रहेको यो पुलको लम्बाइ १ हजार ४५२.९६ मिटर, चौडाइ १.६ मिटर तथा लामो स्पान २२५.४० मिटर रहेको बताइएको छ।
महाकाली नदीमा पुल नहुँदा विगतमा दोधारा–चाँदनीका नागरिकले आवतजावतमा ठूलो सास्ती बेहोर्नुपर्थ्यो। झोलुङ्गे पुल निर्माणपछि स्थानीयको वर्षौँदेखिको आवतजावतको समस्या धेरै हदसम्म सहज भएको थियो।
तर, अहिले पुल नै चुँडिएपछि दोधारा–चाँदनीका नागरिक पुनः आवतजावतको समस्यामा पर्ने अवस्था आएको छ। पुलको तत्काल प्राविधिक परीक्षण गरी आवश्यक मर्मत तथा पुनः सञ्चालनको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।
पुल लामो समयसम्म सञ्चालनमा आउन नसकेमा स्थानीयको दैनिक आवतजावतसँगै पर्यटनमा निर्भर व्यवसायीसमेत प्रभावित हुने चिन्ता बढेको छ। पुल आसपासका चिया-नास्ता पसलदेखि होटल तथा अन्य व्यवसायमा पर्यटकको चहलपहलले प्रत्यक्ष प्रभाव पार्दै आएको थियो।



















Discussion about this post