कृष्णपुर नगरपालिकाले ६ सामुदायिक विद्यालयलाई स्कुल बस दियो

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले ६ वटा विद्यालयलाई ‘विद्यार्थी बस’ सहयोग गरेको छ।

नगरपालिकाले नगरभित्रका राष्ट्रिय माध्यमिक विद्यालय पहरिया, उदय माध्यमिक विद्यालय बंक, नन्द माध्यमिक विद्यालय देखतभूली, कृष्ण माध्यमिक विद्यालय गुलरिया, महाकाली माध्यमिक विद्यालय बसन्तपुर र वीणा माध्यमिक विद्यालय विचुवालाई एक-एक वटा स्कुल बस उपलब्ध गराएको हो।

नगर प्रमुख हेमराज ओझाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को योजना अन्तर्गत सामुदायिक विद्यालयलाई विद्यार्थी बस उपलब्ध गराइएको हो। उनका अनुसार विद्यालयको अवस्था, विद्यार्थी संख्या तथा आवश्यकता लगायतका आधारमा खुला आवेदन माग गरी ६ विद्यालय छनोट गरिएको हो।

५० सिट क्षमताका बस भन्सार राजस्व छुटसहित सिप्रदी ट्रेडिङ प्रालि, काठमाडौंमार्फत प्रतिवटा ४५ लाख ४५ हजार रुपैयाँमा खरिद गरिएको नगरपालिकाले जनाएको छ। २०२६ मोडल, बीएस-६ प्रविधि र ३२ सय सीसी क्षमताका बस विद्यार्थी ओसारपसारका लागि प्रयोग गरिनेछन्।

नगर प्रमुख ओझाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानअन्तर्गत पहिलोपटक विद्यार्थी बसको अवधारणा अघि सारिएको बताए। कृष्णपुर नगरपालिकामा हाल ३२ वटा सामुदायिक विद्यालय रहेका छन्।

‘प्रारम्भिक चरणमा नगरका ६ विद्यालयलाई बस सहयोग गरेका छौँ,’ नगर प्रमुख ओझाले भने, ‘आवश्यकताका आधारमा क्रमशः अन्य विद्यालयलाई पनि सहयोग गर्दै जानेछौँ।’

बस सञ्चालनमा आएपछि टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीलाई आवतजावतमा सहज हुने विद्यालयहरूले बताएका छन्। उदय माध्यमिक विद्यालय बंकका प्रधानाध्यापक बम्मन रानाले विद्यालयले बस पाएसँगै टाढाका विद्यार्थीलाई विद्यालय आउन-जान सहज हुने बताए। त्यस्तै, नन्द माध्यमिक विद्यालय देखतभूलीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक खत्री ‘निर्माण’ले बस प्राप्त भएपछि विद्यार्थीलाई थप सुविधा पुग्ने बताए।

बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख ओझाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकलाई सामूहिक रूपमा बसको चाबी हस्तान्तरण गरे। उनले विद्यार्थीको सुविधासँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत विशेष ध्यान दिन विद्यालय प्रशासनलाई आग्रह गरे।

सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच विस्तार गर्न तथा निजी विद्यालयसँगको प्रतिस्पर्धामा विद्यालयलाई थप सक्षम बनाउन स्थानीय सरकारले थालेको यो पहल शिक्षा क्षेत्रमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने कदमका रूपमा स्थानीयवासीले लिएका छन्। स्थानीयका अनुसार विद्यार्थीको नियमित आवतजावत सहज हुनुका साथै विद्यालयप्रतिको आकर्षण बढाउन पनि बस सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित