सर्वसम्मत उपसभापतिले सात दिनमै दिए राजीनामा, बेलडाँडी कांग्रेसमा गुटगत राजनीतिमाथि प्रश्न

बेलडाँडी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलडाँडी गाउँपालिका कार्यसमितिको उपसभापतिमा सर्वसम्मत चयन भएकी रतना कुमारी सुनारले चयन भएको एक सातामै पदबाट राजीनामा दिएकी छन्।

सुनारले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै पार्टीभित्रको गुटवाद, नीति तथा सिद्धान्तविपरीत हुने गतिविधिप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन्।

उनका अनुसार बेलडाँडी गाउँपालिका-२ मा असोज ३ गते भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो। सोही प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले ‘आजकै मितिबाट’ पदबाट राजीनामा दिएको बताएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन तोकिएको थियो।

सुनारले राजीनामा दिएको घोषणा गरे पनि उनको राजीनामा पार्टीले औपचारिक रूपमा स्वीकृत नगरेको बताइएको छ। यसले बेलडाँडी कांग्रेसको पछिल्लो अधिवेशन प्रक्रियाभित्र देखिएको असन्तुष्टिलाई थप सतहमा ल्याएको छ।

यसअघि पनि बेलडाँडी कांग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिँदै आएको थियो। विशेषगरी वडा नं. २ मा ठूलो संख्यामा नयाँ क्रियाशील सदस्यता वितरण गरिएको विषयमा प्रश्न उठेको बताइएको छ।

कांग्रेसको आफ्नै क्रियाशील सदस्यता प्रक्रियाअनुसार वडा कार्यसमितिले योग्य व्यक्तिको नाम सिफारिस गर्ने र त्यसपछि गाउँपालिका/नगरपालिका हुँदै सम्बन्धित तहबाट प्रक्रिया अघि बढ्ने व्यवस्था छ।

बेलडाँडीमा भने सदस्यता वितरणदेखि अधिवेशन प्रतिनिधि छनोटसम्मका विषयलाई लिएर पार्टीभित्रै असन्तुष्टि र प्रश्न उठिरहेका छन्। केही कार्यकर्ता तथा शुभेच्छुकले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा गुटगत समीकरण हावी भएको गुनासो गर्दै आएका छन्।

सर्वसम्मत रूपमा जिम्मेवारी पाएको एक सातामै उपसभापतिले राजीनामा दिनु आफैंमा बेलडाँडी कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिको गम्भीर संकेतका रूपमा हेरिएको छ। पार्टीभित्रैबाट उठेका यस्ता प्रश्नको सम्बोधन गर्दै नेतृत्वले अधिवेशन प्रक्रियालाई पारदर्शी, विधिसम्मत र सबै पक्षको सहभागितामा अघि बढाउनुपर्ने आवाजसमेत उठ्न थालेको छ।

सर्वसम्मत चयनलाई एकताको सन्देशका रूपमा प्रस्तुत गरिरहेको बेलडाँडी कांग्रेसमा एक सातामै आएको राजीनामाले भने ‘सर्वसम्मति’ भित्रको असन्तुष्टिलाई सार्वजनिक बहसमा ल्याइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित