कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सम्पन्न उखु उत्पादक किसान हकहित संरक्षण समितिको वार्षिक साधारणसभाले हरि चन्द ठकुरीको नेतृत्वमा पुरानै कार्यसमितिलाई सर्वसम्मत रूपमा पुनः चयन गरेको छ।
उखु किसानका समस्या समाधान तथा हकहित संरक्षणका लागि विगतमा अघि बढाइएका पहललाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित शुक्रबार सम्पन्न बन्दसत्रले वर्तमान नेतृत्वलाई नै पुनः जिम्मेवारी सुम्पिएको हो।
साधारणसभाबाट समितिको उपाध्यक्षमा अर्जुन सिंह, सचिवमा रामकृष्ण राना र कोषाध्यक्षमा चेतन कुमार राई सर्वसम्मत चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरूमा करम सिंह राना, रामलाल चौधरी, दयाराम चौधरी, शेरबहादुर शाही, झुपबहादुर शाही, हिरालाल चौधरी, कृष्ण चौधरी र लक्ष्मी चन्द चयन हुनुभएको छ। बेलडाँडी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना महिला सदस्य भने पछि चयन गरिने समितिले जनाएको छ।
साधारणसभामा स्थानीय जनप्रतिनिधि, व्यावसायिक संघसंस्थाका प्रतिनिधि तथा उखु किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी तथा उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष प्रकाशराज पन्तलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले कृषि क्षेत्रको विकास, उखु किसानका समस्या समाधान र किसानको हकहित संरक्षणका लागि स्थानीय सरकार तथा सम्बन्धित निकाय थप जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
उखु खेतीमा संलग्न किसानका समस्या समाधान, उनीहरूको हकहितको संरक्षण तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि समितिले आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।























Discussion about this post