कञ्चनपुर । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचित भएका छन्।
आज सम्पन्न निर्वाचनमा भट्टले ६८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी तथा निवर्तमान अध्यक्ष भीमबहादुर थापालाई २ मतको झिनो अन्तरले पराजित गरेका हुन्। थापाले ६६ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा भने यज्ञराज भट्ट निर्वाचित भएका छन्। उनले ७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिलीप कुँवरले ५७ मत प्राप्त गरे।
महासचिवमा अशोकसिंह साउद, सचिवमा गोपालसिंह कुँवर र कोषाध्यक्षमा दिलीप बुढाऐरसहित अन्य पदाधिकारी तथा सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्ष र उपाध्यक्षका लागि १ सय ३४ जना मतदाता रहेका थिए।
नवनिर्वाचित अध्यक्ष गंगादत्त भट्टले सिँचाई प्रणालीको समग्र सुधार गर्दै किसानका खेतसम्म नियमित र प्रभावकारी रूपमा पानी पुर्याउने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। कृषिमा आत्मनिर्भरता हासिल गर्न सिँचाईको महत्वपूर्ण भूमिका रहने भन्दै उनले समयमै सिँचाईका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
उता, निवर्तमान अध्यक्ष भीमबहादुर थापाले सिँचाई प्रणालीको आधुनिकीकरण, व्यवस्थापन सुधार, आरसीसी टर्सरी निर्माण, सिमसार व्यवस्थापन तथा मुहानबाटै पानीको स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएका थिए। लामो समयदेखि सिँचाई क्षेत्रसँग जोडिएर काम गरेको उनको अनुभवका बाबजुद निर्वाचनमा भने उनी झिनो मतान्तरले पछि परेका हुन्।
महाकाली सिँचाई व्यवस्थापन कार्यालयअन्तर्गत भीमदत्त, बेदकोट, बेलडाँडी र बेलौरी क्षेत्रका किसानले सिँचाई सुविधा पाउँदै आएका छन्। अब नवनिर्वाचित नेतृत्वसामु सिँचाई संरचनाको संरक्षण, पानीको प्रभावकारी वितरण, व्यवस्थापन सुधार र किसानका खेतसम्म नियमित सिँचाई सुविधा पुर्याउने मुख्य जिम्मेवारी रहनेछ।






















Discussion about this post