कञ्चनपुर । दैजी-बेलडाँडी हुलाकी सडकखण्डमा सडक किनारमा बढेको झाडीका कारण वन्यजन्तु र सवारीसाधनबीच दुर्घटनाको जोखिम बढिरहेका बेला झाडी सफाइका लागि पहल थालिएको छ ।
कञ्चनपुर क्षेत्र नं. १ का सांसद जनक सिंह धामीले सडक किनारमा बढेको झाडीले यात्रु तथा वन्यजन्तुको सुरक्षामा जोखिम बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि झाडी सफाइको प्रक्रिया अघि बढेको हो ।
सांसद धामीका अनुसार झाडी सफाइका लागि हुलाकी सडक निर्देशनालय धनगढी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयबीच सम्झौता भएको छ । सम्झौताअनुसार असोज १६ गतेदेखि कार्तिक १६ गतेभित्र सडक किनारमा बढेको झाडी सफा गरिसक्ने गरी काम अघि बढाइएको छ ।
सरकारको निर्देशनपछि हुलाकी सडक निर्देशनालय धनगढीले निकुञ्ज कार्यालयबाट झाडी सफाइको आवश्यक अनुमति समेत लिइसकेको जनाइएको छ । नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सफाइको काम तत्कालै सुरु गरिएको सांसद धामीले बताउनुभयो ।
दैजी–बेलडाँडी सडकखण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र हुँदै जाने भएकाले यहाँ वन्यजन्तुको आवतजावत हुने गरेको छ । सडकको दुवैतर्फ बाक्लो झाडी र घाँस बढ्दा सडक छेउमा रहेका वन्यजन्तु समयमै देख्न नसकिने तथा वन्यजन्तु अचानक सडक पार गर्दा सवारीसाधनसँग ठोक्किने जोखिम बढेको यात्रुहरूको भनाइ छ ।
बर्खायाममा सडक किनारमा घाँस तथा झाडी झनै बढेपछि अहिले उक्त सडकमा यात्रा गर्दा जोखिम मोलेर हिँड्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ । गत वर्ष पनि बेलडाँडी गाउँपालिकाले सडक किनारको झाडी फडानी गरेपछि केही हदसम्म आवतजावत सहज भएको थियो ।
सांसद धामीले दैजी–बेलडाँडी सडकमा वन्यजन्तुको आवतजावत बढिरहेको भन्दै यात्राका क्रममा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ । सडक किनारको झाडी सफाइले यात्रुको सुरक्षासँगै वन्यजन्तु सडकमा प्रवेश गर्दा समयमै देख्न सकिने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि, सडक किनारको झाडी सफाइको जिम्मेवारी कसले लिने भन्ने विषयमा लामो समयदेखि अन्योल देखिँदै आएको छ । निकुञ्ज क्षेत्र भएकाले वन्यजन्तुको सुरक्षाका लागि निकुञ्ज कार्यालयले समेत सफाइ गर्नुपर्ने आवश्यकता देखिए पनि बजेट अभावको कारण देखाउँदै समस्या पन्छाउने गरेको स्थानीयको गुनासो छ ।
त्यसैगरी, सडकसँगै महाकाली सिँचाइको नहरसमेत रहेकाले नहर क्षेत्रको झाडी सिँचाइ कार्यालयले सफा गर्न सक्ने भए पनि नियमित सफाइ नहुँदा झाडी बढ्दै गएको बताइएको छ । निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना तथा प्रदेश सरकारको समेत समन्वयमा सडक किनार सफाइ गर्न सकिने भए पनि प्रभावकारी पहल हुन नसकेको स्थानीयको भनाइ छ ।
अब हुलाकी सडक निर्देशनालय र निकुञ्ज कार्यालयबीच भएको सम्झौतापछि झाडी सफाइको काम अघि बढेकाले दैजी-बेलडाँडी सडकमा यात्रा गर्ने नागरिक तथा वन्यजन्तुको सुरक्षामा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।





















Discussion about this post