बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा जंगली हात्तीको आतंक रोकिएको छैन । पछिल्लो पटक हात्तीको बथानले बेलडाँडी गाउँपालिका-२ स्थित क्याम्प चोकमा एक पसल तथा कटेजमा क्षति पुर्याएको छ ।
सोमबार राति करिब ११ बजे बस्तीमा प्रवेश गरेको हात्तीको बथानले क्याम्प चोकमा लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका भाष्कर भट्टको कटेज, ठेला तथा ठेलाभित्र राखिएका सामान भत्काइदिएको हो ।
हात्ती बस्तीमा प्रवेश गरेपछि नेपाली सेना र स्थानीयवासीको पहलमा हात्तीलाई भगाइएको थियो । त्यसपछि हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ प्रवेश गरेको नेपाली सेनाले जनाएको छ ।
भट्टका अनुसार हात्तीको आक्रमणबाट कटेज, ठेला र त्यसभित्र रहेका सामानमा गरी करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बेलडाँडीमा पछिल्लो समय हात्ती तथा अन्य जंगली जनावर बस्ती पस्ने क्रम बढ्दै गए पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जबाट प्रभावकारी र दीर्घकालीन पहल हुन नसकेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बस्तीमा प्रवेश गरेका वन्यजन्तुलाई सुरक्षित रूपमा पुनः जंगलतर्फ फर्काउने तथा बस्तीमा दोहोरिन नदिने विषयमा पनि पर्याप्त ध्यान पुग्न सकेको छैन ।
स्थानीयले निकुञ्ज तथा निकुञ्जसँग समन्वय गरेर काम गर्ने संघसंस्थाले वन्यजन्तुको आवतजावत र प्राकृतिक मार्गको अध्ययन गरेर मात्रै संरचना निर्माण गर्नुपर्ने माग गरेका छन् ।
विशेषगरी दैजी-बेलडाँडी सडकखण्डअन्तर्गत नहर क्षेत्रमा करिब एक किलोमिटर तारजाली लगाइएको भए पनि त्यसले वन्यजन्तुको प्राकृतिक आवागमनमा थप समस्या सिर्जना गरेको स्थानीयको भनाइ छ । तारजाली लगाएको ६ महिना नपुग्दै जंगली जनावरले विभिन्न ठाउँमा जाली तोडिसकेको बताइएको छ ।
स्थानीयका अनुसार एक जंगलबाट अर्को जंगलतर्फ वन्यजन्तु आवतजावत गर्ने बाटोमै अवरोध हुने गरी तारजाली लगाएपछि त्यसलाई जनावरले तोड्ने गरेका छन् । त्यसैले वन्यजन्तु नियन्त्रणका नाममा संरचना थप्नेभन्दा पनि वन्यजन्तुको प्राकृतिक मार्ग पहिचान गरी कहाँ, कस्तो संरचना आवश्यक छ भन्ने विषयमा वैज्ञानिक अध्ययन र समन्वय आवश्यक रहेको स्थानीयको भनाइ छ ।
बस्तीमा हात्ती र अन्य वन्यजन्तुको प्रवेश निरन्तर बढिरहेको अवस्थामा तत्कालीन राहतसँगै दीर्घकालीन समाधानका लागि निकुञ्ज, स्थानीय तह र सम्बन्धित संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।





















Discussion about this post