धनगढी,
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेशसभाको हलमा शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यका रूपमा रावलले शुक्रबार नै प्रदेश प्रमुख देवराज जोशीसँग शपथ लिएका थिए । त्यसपछि रावलले बाँकी ५२ प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसकी एक जना समानुपातिक सांसद गरी ६ जनाले मातृ भाषा (थारु) मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । नेकपा एसको शुक्रबार धनगढीमा बसेको बैठकले सोडारीलाई दलको नेतामा चयन गरेको हो। सोडारी कैलालीको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा १० का निर्वाचित सांसद हुन् ।
यस्तै बैठकले दलको उपनेतामा कञ्चनपुर क्षेत्र ३ को (१) बाट निर्वाचित प्रकाश रावललाई चयन गरेको छ । बाजुरा क्षेत्र १ को (१) बाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र कञ्चनपुरकी समानुपातिक सांसद माया पन्तलाई सचेतक तोकेको छ ।
सुदूरपश्चिममा नेकपा एसका यी चार जना मात्र सांसद हुन् । पन्त बाहेकका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सदस्य छन् ।
प्रदेशसभामा ६ दलको सहभागिता छ । १९ सिट ल्याएको नेपाली कांग्रेस प्रदेश संसदमा सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । तर शुक्रबारसम्मको अवस्थामा कांग्रेस ठूलो दल भए पनि प्रतिपक्षमा रहने निश्चित जस्तै छ । यसैगरी, ११ सिट ल्याएको माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने, १० सिट ल्याएको एमाले तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेशसभामा चौथो दलका रूपमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । उक्त पार्टीका ७ जना सांसद छन् । ४ जना सांसद रहेको एकीकृत समाजवादी पाँचौ स्थानमा छ भने प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकबाट राप्रपाका एक जना सांसद निर्वाचित भएका छन् ।
त्यस्तै एक जना स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्ति पार्टीबाहेक अन्य दलले संसदीय दलको नेता चयन गरेका छैनन् । नागरिक उन्मुक्तिले रामेश्वर चौधरीलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।
नयाँ गठबन्धन बनेपछि सरकारको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एमालेले दाबी गरिरहेका छन् ।नेकपा एकीकृत समाजवादीले संसदीय दल, प्रमुख सचेतक सहित चयन गरेको छ । भने अन्य पार्टीले सो कार्य जारी राखेको छ ।
Discussion about this post