लालझाडी,
लालझाडीको चान्देवमा रहेको नविल बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अनाथ बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
अाज बिहीबार बैंक शाखाले लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना मार्फत अनाथ बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको बैङ्कका शाखा प्रबन्धक टेकराज जोशीले जानकारी दिनुभयो ।
देशका अन्य शाखाहरूले समेत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको स्मरण गराउँदै उहाँले आगामी दिनहरूमा पनि यस किसिमका कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अध्यक्ष रानाले यस्तो कार्यमा सबैपक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । पालिकाबाट पनि लक्षित वर्गका लागि न्यानो कार्यक्रम ल्याउने वहाँले बताउनु भयो ।
आफ्नो नाफाको केही अंश समाजका लागि योगदान गर्नुपर्छ भन्ने अवधारणाले संस्थागत सामाजिक उत्तरदायित्वलाई जनाउँछ । सर्वसाधारणबाट निक्षेप सङ्कलन तथा सो निक्षेपलाई कर्जाको रूपमा प्रवाह गर्न इजाजत पाएका बैङ्क तथा वित्तीय संस्थासमेत समाजप्रति उत्तरदायी हुनुपर्दछ भन्ने अवधारणाका साथ नेपाल राष्ट्र बैङ्कले यससम्बन्धी नीतिगत व्यवस्था गरेको छ ।
जसअनुसार बैङ्कहरूले आफ्नो नाफाको निश्चित प्रतिशत रकम समाजका लागि खर्च गर्नुपर्ने हुन्छ । बैङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. ६ मा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था छ ।
कार्यक्रममा जनप्रतिनिधि,राजनीतिककर्मी, युवा नेता र सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।
Discussion about this post