कञ्चनपुर,
अाइतवार कञ्चनपुरका छ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले २/२ सभापति जितेका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियुबाट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा दिलेन्द्र प्रसाद बडु र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा देव बहादुर साउँद स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै नेपाली काँग्रेस निकट नेविसंघबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीमा निरज भण्डारी र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा कृष्ण राज जोशी स्ववियु सभापतिमा निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट जनता क्याम्पस पुनर्वासमा मनोज साउँद र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा सरस्वती तिरुवा स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।
दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै सहमतिका आधारमा स्ववियु समिति चयन गरिएको थियो ।
कञ्चनपुरका १६ क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसमा मात्र हिजो आइतबार निर्वाचन भएको थियो भने अन्य ९ क्याम्पसमा विद्यार्थी संघसङ्गठनहरूले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ ।
क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्ने गरिएको छ ।
Discussion about this post