बेदकोट,
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद संस्थापक हर्ताकर्ता रहेको राजेन्द्र निर्माण सेवाले कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ सैयाको अस्पताल भवन निर्माणको ठेक्का लिएर कामकाज अलपत्र पारेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट विनियोजन गरी सिलान्यास गरेको अस्पतालको ठेक्का कबुल गरेको ‘कांग्रेसी ठेकेदार’ कम्पनी राजेन्द्र निर्माण सेवाले नगरपालिकाबाट ८५ लाख रुपैयाँ पेश्की समेत लिइसकेको छ । नगरपालिकाका नगर प्रमुख (मेयर) भोजराज बोहरा पनि नेपाली कांग्रेसकै नेता हुन् ।
ठेकेदारले ८५ लाख रुपैयाँ पेश्की लिएको बेदकोट नगर कार्यपालिकाका प्रवक्ता चित्रदेव भट्टले जानकारी दिए । ठेकेदार कम्पनीले आगामी वैशाखभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको छ । तर ठेक्का सम्झौता अवधि सकिन २ महिनाभन्दा कम अवधि बाँकी रहँदासम्म ठेकेदार कम्पनी गायब छ ।
समयमै कार्यसम्पन्न गर्न २–३ पटक पत्राचार गरिए पनि ठेकेदार कम्पनीले लापरवाही गरेको प्रवक्ता भट्टले बताए । उनले भने, ‘छिटो काम सम्पन्न गर्न नगरपालिकाले २–३ चोटी पत्राचार गरेको हो । ठेकेदारले लापरबाही गरेको छ । समयमा काम सम्पन्न नगरे कारवाही प्रक्रिया अगाडि बढ्छ ।’
नगरपालिका र नगर प्रमुखले ठेकेदारबाट समयमै काम गराउन नसक्ने देखिएपछि स्थानीय वासिन्दा आन्दोलित भएका छन् । युवा नेता खगेन्द्र नाथ संयोजक र मोहन दमाई सहसंयोजक रहेको संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आन्दोलनअन्तर्गत चैत १० गते नगरपालिकामा भर्ना दिने, चैत १४ गते निर्माण कम्पनीको सम्पर्क कार्यालय घेराउ गर्ने, चैत २० गते नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने र चैत २५ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय वासिन्दाको मागलाई मेयर बोहराले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनुपरेको संघर्ष समिति संयोजक नाथले बताए । ‘अस्पताल भवन निर्माण छिटो हुनुपर्यो, भौतिक संरचना निर्माण हुने सुनिश्चितता नगरवासीलाई चाहियो भन्ने हाम्रो माग हो,’ उनले भने, ‘तर निर्माणको काम गरिरहेको छैन, ठेकेदार सम्पर्कमा छैन ।
मेयर सा’पले ठेकेदारलाई पेश्की दिए पनि काम गराउन र सम्पर्कमा ल्याउन चाहनुभएको छैन, हाम्रो मागलाई वास्ता नै गर्नुभएको छैन । पेश्की दिएका मेयर र पेश्की खाएका ठेकेदारबीच केही साँठगाँठ छ कि भन्ने शंका लाग्न थाल्यो ।’
नेकपा एमाले बेदकोट नगर कमिटीका अध्यक्ष हरिश भाटले प्रेस विज्ञप्ति नै जारी गरेर अस्पताल भवन निर्माण कार्य समयमै हुनुपर्ने माग गरेका छन् । अस्पताल भवन निर्माण कार्य समयमै सम्पन्न हुने सुनिश्चितताका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने एमालेको माग छ ।
Discussion about this post