झलारी,
शुक्लाफाँटा नगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
अगामी वर्षको नीति तथा कार्यक्रममा जनताका समस्या सम्बोधनका लागि शुक्लाफाँटाले ‘जनतासँग मेयर’ गर्न लागेको हो।
नगरपालिकाका सबै वडामा पुगेर जनताका समस्या र सुझाव सुनेर अगामी वर्षको नीति तथा कार्यक्रम बनाउन जनतासँग मेयर कार्यक्रम गर्न लागेको नगर प्रमुख रणबहादुर महराले बताए। शुक्लाफाँटामा १२ वटा वडा छन्।
‘सबै वडाका प्रत्येक टोलमा पुग्छौं, जनताका गुनासो, समस्या, सुझाव संकलन गर्छौं,’ उनले भने, ‘नगरवासीले दिएकै सुझाव अनुसार अगामी कार्यक्रम बनाउँछौं।’ जनतासँग मेयर कार्यक्रममार्फत एक वर्षमा गरेका कामको उपलब्धि र समिक्षाबारे समेत छलफल हुनेछ।
‘समृद्ध शुक्लाफाँटा बनाउनका लागि जनता र जनप्रतिनिधिको सहकार्य हुनु जरुरी छ,’ उनले भने,‘यो पहिलो वर्षमा नगरका गौरबका योजनाहरु अगाडि बढाएका छौं।’ जनताका दैनिक जीवनसँग जोडिए समस्या सामाधानमा नगरपालिका केन्द्रित रहेको उनले बताए। उनका अनुसार नगरपालिकाले कोल्डस्टोर, कबर्डहल, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, चक्रपथ निर्माण, नगर अस्पताललगायतका दिर्घकालिन योजनाहरुको काम सुरुवात गरेको छ।
नगरपालिकामा नगर प्रमुख महराले नेतृत्व गरेपछि शुक्लाफाँटामा आरयुडी अन्तर्गत निर्माण भइरहेको ढलसहितको सडक र प्रशासनीक भवन निर्माणको काम पनि अन्तिम चरणमा छ। यसैगरी, शुक्लाफाँटा नगरपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी समेत गरेको छ।
नगरपालिकाले घुम्ति स्वास्थ्य शिविर गर्न लागेको हो। ‘सबैको पहुँचमा स्वास्थ्य सेवा पुगाउन छिट्टै स्वास्थ्य शिविर गर्दैछौं,’ उनले भने, ‘हामीसँग एमबीबीएस डाक्टर र औषधी प्रयाप्त छ, सबै वडामा शिविर सञ्चालन हुनेछ।’
Discussion about this post