काठमाडौं:
सरकारले नेपाली नागरिकलाई इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न आग्रह गरेको छ ।
गत शनिबार प्योस्टाइनी आतंककारी संगठन हमासले इजरायलमा एक्कासी आक्रमण गरेपछि दुबै देशबीच यति बेला युद्ध चर्केको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले आग्रह गरेको छ । मंगलबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि संस्थागत, राजनीतिक वा व्यक्तिगत भ्रमण नगर्न नेपालीलाई आग्रह गरेका छन् ।
उनले इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे समितिलाई जानकारी समेत गराए । उनले १० जना नेपालीको हमासले गरेको आक्रमणमा परी मृत्यु भएको जानकारी पनि समितिलाई दिए। शवहरु, बंकरबाट सुरक्षित स्थानमा सारिएको र नेपाल आउन इच्छुक अन्य नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । नेपाल फर्किन इच्छुकका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गरिएको समेत उनले बताएका छन् ।
मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरुको उद्धार गरिएको पनि समितिलाई जानकारी गराए। उनले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको जानकारी पनी दिएका छन्
Discussion about this post