बेलडाँडी । महाकाली सिंचाई आयोजनाको लापरवाहीका कारण बेलडाँडी गाउँपालिका-स्थित झिलमिला क्षेत्रमा किसानहरुले लगाएको गहुँबाली नष्ट भएको छ । महाकाली सिंचाई द्वितीय चरण अन्तर्गत ब्लक नं. ५ गौडीको मूल नहर भत्किँदा पाकेर काट्न तयार गहुँबालीमा पानी पसेपछि किसान मारमा परेका हुन् ।
भित्र्याउने तयारीमा रहेको गहुँ खेतमा एक हप्ताभन्दा बढी समयदेखि नहरको पानी पसेर बाली नष्ट हुँदा किसान चिन्तित बनेका छन् । झिलमिलाका युवा समाजसेवी राम सिंह खडकाका अनुसार समस्या देखिएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाउँदा किसानको क्षति बढ्दै गएको छ ।
किसानहरूले पटक-पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत कुनै पहल नभएको गुनासो गरे । “समयमै नहर मर्मत भएको भए यस्तो अवस्था आउने थिएन,” उनले भने।
महाकाली सिंचाई केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापा, क्षेत्रीय समितिका अध्यक्ष गोपाल कुँवर लगायत स्थानीय स्तरका जिम्मेवार व्यक्तिहरू बेलडाँडीकै हुँदाहुँदै पनि समस्या समाधान नहुनु लज्जास्पद भएको स्थानीयको भनाइ छ ।
किसानहरूले सिंचाईका पदाधिकारी र वडाका जनप्रतिनिधिलाई समस्या समाधानका लागि आग्रह गरे पनि अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन । पीडित किसानहरुका अनुसार वडाध्यक्ष इन्द्र खडकासँग पनि पहलका लागि अनुरोध गरिएको थियो, तर उनले आफ्नो कार्यक्षेत्र नभएको भन्दै पन्छिएको आरोप लगाइएको छ ।
झिलमिला सिमसार क्षेत्र भएकाले नहर भत्किएपछि पानी सीधै खेतमा पस्दा समस्या झनै जटिल बनेको छ । यस विषयमा महाकाली सिंचाईका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।
लापरवाहीका कारण लाल बहादुर धामी, महेन्द्र खडका लगायत दर्जनौं किसानको गहुँबालीमा क्षति पुगेको छ । समयमै समस्या समाधान नभए अझ ठूलो क्षति हुने भन्दै किसानले तत्काल नहर मर्मत र क्षतिपूर्तिको माग गरेका छन् ।
भिडियो तलको लिङ्कमा
महाकाली सिंचाईको लापरवाही : नहर भत्किँदा पाकेको गहुँबालीमा पानी, किसानको ठूलो क्षति




















Discussion about this post