कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापा साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले थापालाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक थापाको नेतृत्वमा पछिल्लो समय भएका विभिन्न कारबाही तथा अनुसन्धानमा सफलता प्राप्त भएको प्रहरीले जनाएको छ। साउन १४ गते उनको कमान्डमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१ र ३ को सीमामा पर्ने बाराकुण्डाबाट विष्णु मन्दिर जाने बाटोस्थित तुम्डी खोलाको पुलमुनि लुकाइराखेको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको थियो।
त्यस्तै, साउन २५ गते भीमदत्त नगरपालिका–१८ सालघारीमा लुकाइराखेको अवस्थामा कटुवा पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिन पनि थापा नेतृत्वको टोली सफल भएको थियो।
प्रहरी निरीक्षक थापाले अपराध अनुसन्धान शाखामा रहेर विभिन्न मुद्दा फर्छ्योट, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणलगायतका कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
मानवस्रोत व्यवस्थापन शाखामा दरबन्दी रहे पनि हाल अपराध अनुसन्धान शाखामा कार्यरत थापालाई कार्यसम्पादन, अनुसन्धान क्षमता तथा अपराध नियन्त्रणमा पुर्याएको योगदानका आधारमा साउन महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





















Discussion about this post