वर्षौंको पसिना भिरमा फालियो : वन कर्मचारीको निर्मम कदमले धनादेवीको सहारै चकनाचुर

कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ बासपानीकी धनादेवी धामीमाथि शुक्रबार घटेको घटनाले मानवता र राज्य संयन्त्रको संवेदनशीलतामाथि नै गम्भीर प्रश्न उठाएको छ। वर्षौंको दुःख, मेहनत र पसिनाले जोडेकी उनको जीएसए टेम्पो वन कर्मचारीले भिरबाट खसालेर क्षतिग्रस्त बनाइदिएपछि उनी अहिले न्यायको खोजीमा छिन्।

धामीका अनुसार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले गाईमारेडाँडास्थित सडक छेउमा राखिएको उनको टेम्पोलाई सामान झारेर भिरमा फालिदिएका हुन्। उनी उक्त टेम्पोमै दैनिक व्यापार गर्दै आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्।

“हामी त हरेक दिनजस्तै टेम्पो ल्याएर व्यापार गर्थ्यौं। वनका कर्मचारी आउने भन्ने जानकारी नै थिएन,” भावुक हुँदै उनले भनिन्, “गाडीबाट सामान झार्नुभयो, गाडी घर लैजान्छौँ भन्दा पनि मान्नुभएन। अन्ततः हाम्रो सहारालाई नै भिरमा फालिदिनुभयो।”

धामीले उक्त टेम्पो आफ्नो परिवारको आयआर्जनको मुख्य आधार रहेको बताएकी छन्। वर्षौंसम्म दुःख गरेर जोडेकी सम्पत्ति एकैछिनमा ध्वस्त बनाइँदा आफू ठूलो आर्थिक तथा मानसिक पीडामा परेको उनको गुनासो छ।

वन क्षेत्र अतिक्रमण हटाउने कार्य राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन मानवीय संवेदनशीलता, कानुनी प्रक्रिया र वैकल्पिक व्यवस्थापनको आधारमा हुनुपर्ने आवाज स्थानीयस्तरबाट उठ्न थालेको छ। सम्बन्धित व्यक्तिलाई पूर्वसूचना दिने, सामान सुरक्षित स्थानमा सार्ने वा सवारी साधन हटाउन समय दिने विकल्प हुँदाहुँदै सीधै भिरबाट खसाल्ने निर्णयलाई धेरैले निर्मम र अमानवीय व्यवहार को संज्ञा दिएका छन्।

यस विषयमा प्रतिक्रिया लिन डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामबिचारी ठाकुरलाई पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गरिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन।

तर डीभिजन वन कार्यालयका सुचना अधिकारी जिवछ यादवले भने ‘पटक पटक हामीले त्यहाँबाट हटाउन आग्रह गरेका थियाैं, नमानेपनी अन्त सार्ने कर्ममा त्यस्तो भएको हुन सक्ने बताउनु भयो । भिरबाट फाल्ने आफुहरूको नियत नभएको बताउदै कुरा टारटुर गर्नु भयो ।’

शुक्रबार वन कार्यालयले सडक छेउछाउमा अतिक्रमण गरी निर्माण गरिएका ४७ वटा कच्ची तथा पक्की संरचना हटाएको जनाएको छ। तर, अतिक्रमण नियन्त्रणको नाममा नागरिकको जीविकोपार्जनको आधार बनेको सवारी साधनलाई भिरमा फालिएको घटनाले राज्यका निकायले कानुन कार्यान्वयन गर्दा मानवीय पक्ष कति ध्यान दिएका छन् भन्ने प्रश्न समाजमा गुञ्जिएको छ।
धनादेवी धामी अहिले एउटै प्रश्न गरिरहेकी छन्, “मेरो अपराध के थियो ? गाडी घर लैजान दिनुभएको भए मेरो परिवारको सहारा त जोगिन्थ्यो।”

यो घटना केवल एउटा टेम्पो भिरमा खसालिएको कथा मात्र होइन, राज्य संयन्त्रको कठोर निर्णयले एउटा श्रमिक परिवारको सपना र संघर्षलाई क्षणभरमै चकनाचुर बनाएको पीडादायी उदाहरण पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित