बेलडाँडी । बेलडाँडी गाउँपालिका-३ र ४ को सिमाना क्षेत्रमा उचित पानी निकासको व्यवस्था नहुँदा खेत तथा सडक जलमग्न भएका छन्। पानीको निकास हुन नसक्दा बिघौँ-बिघा धान तथा उखु खेती डुबानमा परेका छन्।
वर्षभरि मिहिनेत गरेर लगाएको खेती डुबानमा परेपछि किसान चिन्तित बनेका छन्। पटक-पटक समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान हुन नसकेको भन्दै स्थानीय किसानले गुनासो गरेका छन्।
किसानहरूले महाकाली सिँचाइ, बेलडाँडी गाउँपालिका, प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायलाई पानी निकासका लागि विभिन्न विकल्पसहित समस्या समाधान गर्न आग्रह गर्दै आएका छन्। तर पटक-पटक ध्यानाकर्षण गराउँदा पनि समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ।
डुबानको समस्या समाधान गर्न महाकाली सिँचाइले दुई वटा सोलार मोटर जडान गरेको छ भने गाउँपालिकाले समेत लाखौँ रुपैयाँ खर्च गरेर दुई वटा विद्युतीय मोटर जडान गरेको जनाएको छ। तर मोटर जडान भएको झण्डै दुई महिना बितिसक्दा पनि मोटर कसले सञ्चालन गर्ने, विद्युत् महसुल कसले तिर्ने र नियमित सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन।
गाउँपालिकाले भने विद्युतीय मोटरको रेखदेख तथा सञ्चालनको जिम्मेवारी महाकाली सिँचाइलाई दिने गरी पत्राचार गरिएको जनाएको छ।
तर किसान भने मोटर जडान गरेर मात्रै समस्या समाधान नहुने बताउँछन्। उनीहरूलाई तत्काल पानी निकाससँगै हरेक वर्ष दोहोरिने डुबानको समस्या समाधान हुने गरी स्थायी निकासको व्यवस्था चाहिएको छ।
‘वर्षभरि पसिना बगाएर लगाएको बाली आँखै अगाडि डुबिरहेको छ, तर समस्या समाधानका लागि आश्वासन मात्रै पाइरहेका छौँ,’ स्थानीय किसानहरूको गुनासो छ।
डुबानका कारण सडकसमेत जलमग्न भएपछि स्थानीयको आवतजावतमा समेत समस्या भएको छ। किसानहरूले अब आश्वासनभन्दा पनि व्यवहारमै पानी निकासको व्यवस्था गरी खेतीयोग्य जमिन र किसानको वर्षभरिको मिहिनेत जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन्।





















Discussion about this post