धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा सहभागी ४६ जना प्रदेशसभा सदस्यहरूमध्ये मुख्यमन्त्री भट्टको पक्षमा ३१ मत र विपक्षमा १५ मत परेको हो।
सरकारको नेतृत्व गरिरहेको नेकपाका २० र एमालेका ११ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका छन्। यस्तै, नेपाली कांग्रेसका १४ र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरे। कांग्रेसका तीन जना प्रदेशसभा सदस्य भने बैठकमा अनुपस्थित रहे।
नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमति बनेपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारलाई अब सरकार सञ्चालनका लागि थप राजनीतिक आधार प्राप्त भएको छ।






















Discussion about this post