रञ्जित लामा/धनगढी । नृत्यलाई मनोरञ्जनमा मात्र सीमित नराखी त्यसलाई फिटनेस, अनुशासन र आत्मविश्वाससँग जोड्ने अभियानमा सक्रिय युवा कोरियोग्राफर सन्तोष अवस्थीले आफ्नो यात्रा अर्को भूगोलसम्म विस्तार गरेका छन् ।
कञ्चनपुरको पुनर्वासस्थित आई.बी.आर.डी मा द फन्की डान्स एण्ड जुम्बा स्टुडियो सञ्चालन गर्दै आएका अवस्थीले अब बाजुराको सदरमुकाम मार्तडीमा आरडीएस डान्स एण्ड जुम्बा स्टुडियोमार्फत आफ्नो अनुभव र अभ्यासलाई नयाँ समुदायसम्म पु¥याएका छन् ।
मार्तडीको बडीमालिका नगरपालिका–९, तुफानडाँडा नजिकै हिमालय कैलाश होटलको तल्लो तलामा स्थापना गरिएको स्टुडियोले नृत्य र जुम्बालाई एउटै छानामुनि ल्याएको छ । स्टुडियोको औपचारिक उद्घाटन बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले गरेका हुन् ।
तर आरडीएसको सुरुवातलाई केवल नयाँ स्टुडियो खुलेको घटनाका रूपमा मात्र हेर्नुभन्दा यसलाई अवस्थीको लामो समयदेखिको नृत्य र फिटनेस यात्राको अर्को अध्यायका रूपमा हेर्न सकिन्छ ।
पुनर्वासको आई.बी.आर.डी.बाट सुरु भएको द फन्की डान्स एण्ड जुम्बा स्टुडियोमार्फत नृत्य तथा जुम्बालाई स्थानीयस्तरमा विस्तार गर्दै आएका अवस्थी अहिले बाजुरामा पनि त्यही अवधारणालाई नयाँ स्वरूपमा अघि बढाउँदैछन् । उनको प्राथमिकतामा नृत्य सिकाउने मात्र होइन, नियमित शारीरिक गतिविधि, फिटनेस र सिर्जनात्मक अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नु रहेको छ ।
अवस्थीको सोचमा डान्स केवल स्टेप सिक्ने विषय होइन, शरीरलाई चलायमान बनाउने, आत्मविश्वास बढाउने र आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यम पनि हो । त्यसैगरी जुम्बालाई उनले संगीत, नृत्य र व्यायामको संयोजनका रूपमा अघि बढाउँदै आएका छन् ।
आरडीएसमा बालबालिका, विद्यार्थी, युवायुवती तथा महिलालाई लक्षित गर्दै विभिन्न नृत्य तथा जुम्बा प्रशिक्षण सञ्चालन गरिनेछ । स्थानीय प्रतिभालाई पहिचान गर्ने, उनीहरूलाई प्रशिक्षणको अवसर दिने र नृत्य तथा फिटनेसमा रुचि भएका व्यक्तिका लागि व्यवस्थित वातावरण तयार गर्ने योजना स्टुडियोको छ ।
विशेषगरी पछिल्लो समय मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा लामो समय बिताउने पुस्तालाई शारीरिक तथा सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्नु आवश्यक रहेको अवस्थीको बुझाइ छ । त्यसैले आरडीएसलाई उनले ‘नाच सिक्ने ठाउँ’ मात्र नभई सक्रिय जीवनशैली निर्माण गर्ने प्लेटफर्मका रूपमा विकास गर्न खोजेका छन् ।
मार्तडीमा यस प्रकारको व्यवस्थित डान्स तथा जुम्बा प्रशिक्षणको सुरुवातले स्थानीय युवायुवती र बालबालिकाका लागि नयाँ अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ । मनोरञ्जनसँगै फिटनेसलाई जोडेर सञ्चालन हुने गतिविधिले स्वास्थ्यप्रतिको चेतना बढाउन र स्थानीय प्रतिभालाई अगाडि ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
नगरप्रमुख अमरबहादुर खड्काले पनि प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका तथा युवायुवतीलाई सिर्जनात्मक र शारीरिक गतिविधिमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आरडीएस जस्ता प्रयासले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।
पुनर्वासको आई.बी.आर.डी मा द फन्की डान्स एण्ड जुम्बा स्टुडियोबाट सुरु भएको अवस्थीको अभ्यास अब बाजुराको मार्तडीसम्म पुगेको छ । फरक भूगोल, नयाँ समुदाय र नयाँ पुस्तासँग जोडिँदै आरडीएसले अब नृत्य, संगीत र फिटनेसलाई एउटै लयमा अघि बढाउने प्रयास थालेको छ ।
यस अर्थमा आरडीएसएउटा नयाँ स्टुडियो मात्र होइन—सन्तोष अवस्थीले वर्षौंदेखि गर्दै आएको नृत्य र फिटनेस यात्रालाई अर्को ठाउँमा विस्तार गर्ने नयाँ अध्याय पनि बनेको छ ।






















Discussion about this post