काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटी र पत्रकार रोशन खड्काबीच सहमति भएको छ। सामाजिक सञ्जालमा पत्रकार खड्काविरुद्ध व्यक्तिगत आक्षेपसहित भ्रामक सामग्री पोस्ट गरेको विषयमा सिवाकोटीले गल्ती स्वीकार गर्दै माफी मागेपछि दुवैबीच सहमति भएको हो।
पत्रकार खड्काले आफूविरुद्ध सामाजिक सञ्जालमा हुँदै नभएका र भ्रामक कुरा लेखेको भन्दै सिवाकोटीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा ब्यूरोले आइतबार दुवै जनालाई बोलाएर छलफल गराएको थियो।
छलफलका क्रममा सिवाकोटीले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका थिए। उनले खड्काविरुद्ध पोस्ट गरिएका सामग्री हटाउने र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालबाटै सार्वजनिक रूपमा माफी माग्ने प्रतिबद्धता जनाएपछि खड्काले माफी दिएको छलफलमा सहभागी एक जनाले बताए।
छलफलमा सिवाकोटीले आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा उक्त विषयमा कुनै टिप्पणी नगर्ने प्रतिबद्धता जनाएको सहभागीले जानकारी दिए।
प्रहरीले पटक-पटक ताकेता गरेपछि सिवाकोटी साइबर ब्यूरो पुगेका थिए। ब्यूरोमा भएको छलफलपछि दुवै पक्षबीच सहमति भएको हो।
पत्रकार खड्काले सञ्चालन गर्ने अनलाइन काठमाडौँपाटीमा इमान सापकोटा र नेपाली कांग्रेससँग सम्बन्धित समाचार प्रकाशित भएपछि सिवाकोटीले खड्कालाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेपसहितका सामग्री पोस्ट गरेको जनाइएको छ। त्यसपछि खड्काले साइबर ब्यूरोमा उजुरी दिएका थिए।
खड्काले समाचार लेखेकै आधारमा पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाउने र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रवृत्तिविरुद्ध कानुनी प्रक्रियामा गएको बताइएको छ।
यस घटनामा खड्काले १८ करोड रुपैयाँसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक हुनुअघि नै समाचार लेखेका थिए। उक्त समाचार प्रकाशित भएपछि खड्कालाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरू सक्रिय भएका थिए। समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोही विषयसँग सम्बन्धित अडियोसमेत सार्वजनिक भएको थियो।
तथ्यका आधारमा समाचार लेख्ने पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाउने प्रवृत्तिलाई निरुत्साहित गर्न साइबर ब्यूरोमा उजुरी दिइएको खड्काको पक्षले जनाएको छ।
सामाजिक सञ्जालमा हुने अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले समेत तथ्य, मर्यादा र पत्रकारिताको स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने यस घटनाले पुनः स्मरण गराएको छ।




















Discussion about this post