बेलडाँडी, ०९ पुष । बेलौरी भन्सार कार्यालयलाई गड्डाचौकी भन्सार कार्यालय मार्फत संचालन गराउनका लागि संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको अगुवाइमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयमा डेलिगेशन बुझाइएको छ ।
हिजो आइतवार बिष्टको अगुवाइमा संघिय राजधानी काठमाडौं पुगेको कञ्चनपुरको टोलीले कैलाली भन्सार कार्यालय मातहतमा रहेको बेलौरी भन्सार कार्यालय विगत झै विस्थापित हुने खतरा रहेको भन्दै यसलाई गड्डाचौकी भन्सार कार्यालय मातहत ल्याउन मन्त्री परिषदबाटै निर्णय गराउनका लागि ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले जानकारी गराउनु भयो ।
उहाँका अनुसार हिजोका दिनमा पनि बेलौरी छोटी भन्सार कार्यालय कैलाली भन्सार कार्यालय मातहत रहेको र विचमा मनोगत तरिकाले बन्द भएको हुदा आगामी दिनमा पनि यस्तो बन्द हुने खतरा नआला भन्न नसकिने भएकोले यसलाई गड्डाचौकी भन्सार कार्यालय मार्फत ल्याउनका लागि माननीय दिवान सिंह विष्टको नेतृत्वमा हाम्रो टोली आएको वहाँले बताउनु भयो । कैलाली भन्सार कार्यालय मार्फत रहे बेलौरी भन्सार कार्यालयबाट संकलन भएको राजस्व कैलालीमै देखिने भएकाले कञ्चनपुरबाट संकलन भएको राजस्व कञ्चनपुरबाटै संकलन भएको देखियोस भन्नका लागि समेत गड्डाचौकी भन्सार कार्यालय मार्फत ल्याउन जरुरी रहेको जनाए । धेरै कुरामा राजस्व संकलन भएको हिसवाले समेत जिल्लाको मुल्याङ्कन हुने हुदा समेत यस्तो माग गरिएको सभापति उपाध्यायले बताउनु भयो । परराष्ट्र मन्त्री एनपी साउद र अर्थ मन्त्री प्रकाशशरण महतले छिट्टै मन्त्री परिषदबाट निर्णय पास गराउने बचन दिएको वहाँले बताउनु भयो ।
यस्तो थियो ज्ञापन पत्र
उपरोक्त सम्बन्धमा विगत लामो समय देखि सञ्चालनमा रहेको वेलौरी भन्सार कार्यालय २०७४ साल देखि अवरुद्ध यस क्षेत्रमा अन्तराष्ट्रिय सिमाना भारत सँग सामान्य कारोबार गर्न एंव आवतजावतमा समस्या उत्पन्न भए पछि मैले पटक–पटक भन्सार सञ्चालनका लागि लिखित रुपमा माग गरेको स्थानिय जनता, जनप्रतिनिधी संघ संस्थाहरुको माग पस्चात मिति २०८०–०९–०२ गते देखि केहि कर्मचारी खटाई कैलाली भन्सार कार्यालय मातहतमा रहने गरि भन्सार कार्यालय संचालनमा आएको र उक्त वेलौरी भन्सार कार्यालय विगत झै विस्थापित हुने खतरा देखिएकोले वेलौरी भन्सार कार्यालय कञ्चनपुरलाई गड्डाचौकी भन्सार मार्फत संचालन गर्न बेलौरी छोटी भन्सार कार्यालय स्थापनाका लागि नेपाल सरकार मन्त्री परिषद बाट निर्णय गराईदिनुहुन अनुरोध गर्दछौं ।
उक्त ज्ञापन पत्र बुझाउनेमा संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्साल, नेपाली कांग्रेस कञ्चनपुर सभापति तथा भिमदत्त नगरपालिका प्रमुख पदम बोगटी, नेपाली कांग्रेस जिल्ला सचिव तथा कृष्णपुर नगरप्रमुख हेमराज ओझा, नेपाली कांग्रेस क्षेत्र नंं.१ क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी भरत बिष्ट, नेपाली कांग्रेस निकट महिला संघ केन्द्रिय सदस्य मिरा चन्द, नेविसंघ कञ्चनपुर क्षेत्रीय संयोजक यज्ञ खडका, वाईसिएल सदुरपश्चिम प्रदेश सचिवालय सदस्य जिवन पाण्डेय, नेपाल तरुण दल कञ्चनपुर अध्यक्ष महेश चन्द, नेपाली कांग्रेस बेलौरीका छुनकलाल चौधरी, नेपाली कांग्रेसका आनन्द चौधरी, नेपाली कांग्रेस जिल्ला सदस्य रमेश ब. ऐर, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी किरण चन्द, नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं.२ क्षेत्रीय सभापति लाल ब. सिंह र नेपाली कांग्रेस कञ्चपुर क्षेत्र नं.२ कोषाध्यक्ष भक्त ब. खत्री लगायतकाहरुको सहभागिता रहेको थियो ।
Discussion about this post