दार्चुला,
शुक्रवार रातीदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीमा परेर ११ जना बेपत्ता भएका छन् । स्थानीय एवं उद्योग वाणिज्य सङ्घ दार्चुलाका पूर्व अध्यक्ष मङ्गल ठगुन्नाका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । स्थानीयहरु सबै राती देखिनै घरबाहिर निस्किएका छन् ।
बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको स्थानीय चक्र बमले बताउनुभयो । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
अविरल बर्षाले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीयमा अनुरोध गरिएको छ । स्थानीय शिक्षक प्रवेश प्रताप ऐतवालका अनुसार अविरल वर्षाले बंगाबगडको दशरथ नगर स्कुलसंगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको छ । कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्र तनावग्रस्त रहेको उनले बताए। दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ ।
Discussion about this post