बाजुरा:
वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । ६ महिनापछि वर्षासँगै हिमपात भएपछि किसानहरुमा खुसी
छाएको छ ।पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको छ ।बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ ।
सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ ।बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् ।
वर्षा र हिमपातपछि वस्तु भाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी देखिएका छन् ।
सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताए ।
वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले जानकारी दिएका छन् ।हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।
Discussion about this post