बेलडाँडी । चौधर नदीमा आएको बाढीका कारण महाकाली सिंचाईको नहर तथा तटबन्ध फुटेर बेलडाँडीका अधिकांस भु-भागमा बाढी आएको थियो । बाढीका कारण बेलडाँडीमा ठुलो क्षति भएको छ । बाढीले बेलडाँडीको इमलिया, झिलमिला, चवन्नी खल्ला, ढकनिया, वैवाहा, खैरिघाट र बेलौरीको भुडा शिव नगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेका थिए ।
नदीको सतह घटेका कारण नहर फुटाएको ठाउँबाट बस्तीमा पानी पस्न रोकिएको भए पनि पुनः वर्षांत भए थोरै नदीको सतह बढ्दा बस्तीमा पानी पस्ने जोखिम रहेकाले उक्त समस्या समाधानका लागि विहिवार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले चौधर नदी लगायत बाढी पसेको क्षेत्रको अनुगमन गर्दै तत्काल समस्या समाधानका लागि सर्वे गर्न महाकाली सिचाईलाई निर्देशन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारीले यो समस्या समाधानका लागि विपद व्यवस्थापन समितिको बैठक बोलाएर तुरुन्तै कार्य गर्ने बचन दिनु भयो । सोहि अनुसार हिजो शुक्रवार महाकाली सिंचाई कार्यालयले फुटेको ठाउँको सर्वेक्षण गरेको महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय अध्यक्ष भीम बहादुर थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार १२ सय मिटर तटबन्ध निर्माण गर्नका लागि सर्वे भएको बताए । थापाका अनुसार जमिनलाई भित्र पार्ने गरी निकुञ्जको किनार देखि तटबन्ध निर्माण गरिनु पर्नेमा स्थानीयको जोड रहेकाले त्यसो गर्नाले बस्ती सुरक्षित हुने बताए । यसमा निकुञ्जले पनि बस्तीको हित हुनेगरी सोचिदिनुपर्नेमा जोडदिनु भयो ।
स्थानीयहरुका अनुसार कालिकिचको किनार हुदै चौधर खोला सम्म तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिए । उनीहरुका अनुसार निकुञ्जको किनारै देखि जमिनलाई भित्र पार्ने गरी तटबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । चौधर नदी र कालिकिच तालको माथी पानी काट्ने ब्लकर सहितको तटवन्ध बनाउनु पर्ने सुझाव दिए । तत्काल फुटेको ठाउँ मर्मत गरेर तत्काल निम्तिन सक्ने समस्या समाधान गरिनुपर्नेमा सबैको जोड रहेको छ ।
बेलडाँडी गाउँपालिका भरी बाढी तथा डुवानले १५ सय भन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । उनले तथ्यांक संकलनका लागि कर्मचारी तथा जनप्रतिनिधी परिचालन गरिएको जनाउदै उनीहरुको राहतका लागि माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो । धेरै परिवारको घर भत्काई बाढीले भण्डारण गरेर राखेको खाद्यान्न बगाएको थियो ।
यस्तै बाढीले बेलौरीको बण्डाझाला, भुडा, कानपुर, कलकत्ता लगायतका क्षेत्र डुबानमा परेका छन् । बेलौरी नगरपालिका – १० मा ४ सय, बेलौरी –८ मा करिब १ सय ५० परिवार प्रभावित बनेका छन् । बेलडाँडी र बेलौरीमा नदीको पानी पस्दा करिब १ हजार बिघा भन्दा बढी खेतमा लगाइएको धान बाली नष्ट भएको छ । बाढीले केही जमिन कटान गर्नुका साथै पटान समेत गरेको छ ।
Discussion about this post