महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाले विकासको कुनै परवाह नगरी विभिन्न शीर्षकमा बजेट रित्याउने गरेको खुलासा भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलोरीमा दुई पटक एउटै व्यक्ति मेयर छन् । तर, दोस्रो कार्याकाल पनि ढुकुटी रित्याउनै वित्न थालेको महालेखापरीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।
स्थानीय सरकार ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधीभित्र रही औचित्यताका आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ तर बेलौरी नगरपालिकाले भने आर्थिक वर्ष ०७९/०८० मा खाना तथा विविध खर्च शीर्षकमा ३४ लाख ७६ हजार रुपैँया खर्च गरेको भेटिएको हो ।
नगरपालिकाले आन्तरिक आयको ११.१९ प्रतिशत खाना तथा विविध शिर्षकमा मात्रै खर्च गरेको देखिन्छ । यस्तो खर्च गर्दा औचित्यका आधारमा गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाएको छ ।
बेलौरी नगरपालिकाले विकास निर्माणका कार्यभन्दा प्रशासनिक प्रयोजनमा मात्रै अत्यधिक खर्च गरेको फेला परेको छ । नगरपालिकाले आन्तरिक आयको ३४.३६ प्रतिशत पदाधिकारीको सुविधामा मात्रै खर्चगरेको ०७९/०८० को प्रतिवेदनले पुष्टि गरेको हो ।
नगरपालिकाको आन्तरिक आय ३ करोड १० लाख ४५ हजार ७ सय ७७ रुपैँया रहेको छ ।
सो नगरपालिकाका मेयर उपमेयरले पदाधिकारी सेवा सुविधामा ९४ लाख ७३ हजार रुपैँया खर्च गरेका छन् । जुन आन्तरिक आयको ३४.४६ प्रतिशत खर्च रहेको छ ।
नगरपालिकाले चालुतर्फ ७२.२४ प्रतिशत र पूँजिगत तर्फ २७.७५ प्रतिशत मात्रै खर्च गरेको हो ।
यसबाट पालिकाले विकास निर्माण प्रयोजनमा न्यून खर्च गरेको र प्रशासनिक प्रयोजनमा मात्रै बढी खर्च गरेको महालेखाले औँल्याएको छ । महालेखाले प्रशासनिक खर्च नियन्त्रण गर्दे प्राप्त अनुदान र राजस्व बाडफाँडको रकम अधिकरुपमा विकास निर्माण प्रयोजनमाा परिचालन गर्नुपर्ने सुझाएको छ ।
यस्तै नगरपालिकाले एक सय बढी करार कर्मचारी राखी ०७९/०८० मा १ करोड ९६ लाख रुपैँया खर्च भएको महालेखाले लेखेको छ । पालिकाले संगठन तथा व्यवस्थापन सर्भेक्षण बेगर अस्थायी कर्मचारी राखी खर्चगरेको देखिएको महालेखाले औल्याएको छ ।
यस्तै नगरपालिकाले प्रमाण पेश नगरिकनै २ लाख ३७ हजार ३ सय ३० रूपैयाँ खर्च भएको देखिएको छ । महालेखाले उक्त रकम एकिन गरि प्रमाण पेस गर्न लगाएको छ ।
नगरपालिकाका मेयर पोतिलाल चौधरीले स्थानीय सरकार ऐन अनुसार पालिकाको विद्यालय अनुगमन मापण्ड समेत तयार गर्न सकेका छैनन्, जसले गर्दा पालिकामा रहेका विद्यालयले प्रदान गरेको शिक्षण सिकाई प्रभावकारी रुपमा सञ्चालन भएको भन्ने अवस्था नरहेको प्रतिवेदनले औँल्याएको छ ।
नगरपालिकालाई अनुगमन मापदण्ड तयार गरी विद्यालय अनुगमन कार्यालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तर्फ ध्यान दिनुपर्ने महालेखाले सुझाएको छ ।
नगरपालिकाले सडक निर्माण गर्ने क्रममा अमृत कन्स्ट्रक्सनलाई ठेक्का भन्दा बढी रकम भुक्तानी गरेको भेटिएको छ । महालेखाले उक्त कन्स्ट्रक्सनलाई पालिकाले बढी भुक्तानी गरेको ५० हजार २ सय २७ रुपैयाँ असुल गरि दाखिला गर्न लगाएको छ ।
०७९/८० मा बेलौरी नगरपालिकाको १ अर्ब ६४ करोड ४७ लाख ६७ हजारको लेखापरीक्षण गर्दा ४ करोड, १६ लाख ७५ हजार रुपैयाँ बेरुजु आएको छ ।
महालेखापरीक्षकको कार्यालयले बेरुजु देखिएको रकममध्ये असुल गर्नुपर्ने ३० लाख ४४ हजार, प्रमाण कागजात पेश गनुपर्ने २ करोड १ लाख १८ हजार, नियमित गर्नुपर्ने २२ लाख ६ हजार र पेश्कि बाँकी १ करोड ६३ लाख ७ हजार रहेको जनाएको छ ।
नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्म २३ करोड ९५ लाख ४० हजार रुपैँया बेरुजु बाँकी रहेकोमा ०७९/८० मा समेतको गरि २८ करोड १२ लाख १५ हजार अद्यावधिक बेरुजु रहेको छ । मानसखण्ड देखि साभार
Discussion about this post