बेलडाँडी, १६ साउन । अविरल बर्षाका कारण गत असाढ २४ गते चौधर नदीमा आएको बाढीले बेलडाँडी लगायत बेलौरीमा ठुलो क्षति पुर्याएको छ । चौधर नदी नियन्त्रणका साथै महाकाली सिंचाईले निर्माण गरेको नहर फुटालेर आएको बाढीले बेलडाँडी लगायत बेलौरीका ८ र १० नम्वर वडामा समेत क्षति पुर्याएको थियो ।
चौधर नदीको दीर्घकालीन समस्या समाधान नभए सधैभरी यस क्षेत्रका नागरिकले जोखिमपूर्ण जीवन बिताउनु पर्ने भएकाले यसको समस्या समाधानका लागि प्रदेश सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट नेतृत्वको टोलीले उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाको ध्यानाकर्षण गराएका छन् ।
उत्तरी चुरेबाट निष्कने चौधर नदी बेलडाँडी गाउँपालिकाको सिरानी हुदै बग्दै आएको छ । चौधर नदी बेलडाँडी गाउँपालिका २ र ५ नम्बर वडाको मुख्य सिरानीका रुपमा रहेको छ । २०२४ साल तिर नदी निकुञ्जको विच जंगल भएर बग्ने गरेको स्थानीयको भनाइ छ । पछि ‘२०३६ सालदेखि नदी विच गाँउ भएर बग्नथाल्यो । २०५१ साल तिर महाकाली सिंचाइले नहर निर्माण गर्दा नदीलाई बस्ती र निकुञ्जको किनार भएर बग्ने बनायो । महाकाली सिंचाईको नहर तटवन्धले गर्दा बस्तीमा बाढी आउन त केहि रोकियो, तर तटवन्ध भन्दा माथीको भाग पटान हुन थाल्यो, पटान हुदै गर्दा नदीको उचाई बढ्दै गयो । जतिजति नदीको उचाई पटानीका कराण बढ्दै गयो उतिनै बस्ती विपद्को उच्च जोखिममा पर्दै गयो ।
नदी संगै जोडिएको ईमलिया गाउँमा बस्ती बसेको झण्डै ७ दशक भन्दा बढी भयो । २०१३ सालमा ईमलिया गाँउमा राना थारुहरु बसोबास गर्दै आएको लालपुर्जा रहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रसंगै जोडिएको ईमलिया, झिलमिलाका स्थानीयको जमिन नदीवारी र पारी छ । पारीको पुरै जमिन प्रत्येक साल पटानी हुदैगर्दा खासै प्रयोगमा ल्याउन सकेका छैन् ।
तटवन्धनले मात्र बस्ती जोगाउन सम्भव नभएकाले चौधर नदीको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने अनिवार्य रहेको बताउदै बिष्ट नेतृत्वको टोलीले छिटोभन्दा छिटो समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण गराएको बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताउनु भयो ।
रानाका अनुसार चौधर नदी पारी रहेको ७२ बिघा जमिनलाई बस्ती तिर पार्ने गरि साविक विचवा भन्ने ठाउँबाट या पुरानै चौधर बग्ने ठाउँ जंगलको भित्रबाट सिधा झिलमिलाको किनार जोड्ने गरी नदीको धार तयार गरिदिने हो भने दिर्घकालीन रुपमा समस्या समाधान हुने बताउनु भयो । उनले भने अवको तटवन्ध निर्माण गर्दा कालिकिच तालको माथिल्लो भाग देखि निर्माण गर्ने बिषयमा ध्यानाकर्षण गराएको बताउनु भयो । अहिले आकाशमा बादल आउदा साथ स्थानीयहरु त्रसितपूर्ण वातावरणमा बस्नुपरेको भन्दै तुरुन्त समस्या समाधानमा ध्यानदिइदिन आग्रह गर्नु भयो । यस नदीका कारण अहिले सम्म कायौंले ज्यान गुमाइसकेका छन भने कयौं विस्तापित भइसकेको रानाले अवगत गराउनु भयो ।
मन्त्री खडकाले तुरुन्त यसमा ध्यानदिने आसवासन दिएको बताउनु भयो । प्रदेश सदस्य बिष्टको नेतृत्वमा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना, नेपाली काँग्रेस कञ्चनपुरक्षेत्र नं.१ काक्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय, काँग्रे प्रदेश ख का सभापति चेतन कुमार राई र बेलडाँडी गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वाड अध्यक्ष गज बहादुर बिष्ट लगायतको टोलीले ज्ञापनपत्र बुझाएका हुन ।
Discussion about this post