बेलडाँडी, २३ साउन । कञ्चनपुर र कैलालीमा बसोवास गर्दै आएका रानाथारु समुदायका महिलाहरुले आज (बुधवार) महत्वपूर्ण पर्व तीज मनाउँदै छन् । हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।
रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ्ग राख्ने चलन समेत रहेको छ भने दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । पिङ्गलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।
यसैबीच, रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना व्यक्त गर्दै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सभ्य र परम्परागत शैलीले तीज मनाउन सबैमा आग्रह गरेका छन् । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषा संरक्षणगर्नमा पालिका लागि पर्ने बताएका छन् । यति बेला रानाथारु बस्तीहरु पिङ्गले सजिएका छन् । यी बस्तीहरुमा छुट्दै रौनक छ ।
Discussion about this post