कञ्चनपुर, ५ मसिर । कञ्चनपुरको उत्तरी चुरे जंगलबाट हतियार सहित दुई युवक पक्राउ परेका छन । भीमदत्त नगरपालिका ९ खल्लामछेट्टी कालीगडा खोला चुरे जंगल क्षेत्रबाट दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति एसपी खगेन्द्र बहादुर चन्दले बुधबार बिहानपखको समयमा जंगलमा हतियार सहित अनावश्यक प्रवेस गरिरहेका १० जना मध्ये २ पक्राउ परेको बताए ।
सशस्त्र प्रहरीका एसपी चन्दका अनुसार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी खल्ला)का इन्चार्ज सशस्त्रप्रहरी नायब निरीक्षक भरत कुँवर नेतृत्वको गस्ती टोलीले दुई युवक सहित उनीहरुको साथबाट हतियार बरामद गरिएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ टुडिखेल ५३ बर्षका गगन तरामी र टुडिखेलकै ५५ बर्षिया प्रेम बहादुर धामी रहेका छन । उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक, २ प्याकेट बारुद, ३८ टुक्र्रा बन्दुका सिसा, २७ फलामका टुक्र्रा, १२ बन्दुको क्याप र २ थान कुखुरी बरामद गरिएको छ । सशस्त्र प्रहरी देखेर उक्त समुह भागेको थियो ।
सशस्त्र प्रहरीले उक्त समुह शिकारी समुह भएको जनाएको छ । बाँकी शिकारी समुहको पनि खोजि कार्य भईरहेको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएका हतियार सहित दुई मानिसमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले उक्त विषयमा थप अनुसन्धान गरेर कार्बाही गर्ने बताए । हतियार सहित जंगल परेर बन्यजन्तु मार्ने योजना बनाएको फौजशैलीमा जंगल परेका शिकारी समुहको सशस्त्र प्रहरीले सपना तुहाईदिएपछि उनीहरुको विचल्ली भएको छ ।
कञ्चनपुरमा सशस्त्र प्रहरीले राजस्व चोरी तस्करी नियन्त्रणसंगै वन,बन्यजन्तु चोरी शिकारी नियन्त्रणमा कामकाज गरिरहेको छ ।
Discussion about this post