कञ्चनपुर । रास्वपा सभापति रवि लामिछानेकाे मानव अधिकार हनन गरेकाे भन्दै सुदुरपश्चिमबाट पनि मानव अधिकार आयाेगमा उजुरी परेको छ ।
प्रहरी अनुसन्धानका लागि भनी थुनावमा राखेका लामिछानेलाई कार्तिक २ गते देखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै निम्न रुपले मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको जनाउदै राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यालय मार्फत राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रिय कार्यालय,हरिहरभवन, ललितपुरको ध्यानाकर्षण गराईएको छ ।
ध्यानाकर्षण पत्र यस्तो छ :-
उपरोक्त सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई वर्तमान सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुकासाथै उहाँको व्यक्तिगत मानवअधिकार हननमा समेत उद्दत रहेकाले उहाँको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा संघसंस्था समक्ष हामी हार्दिक अपील गर्दछौं ।
रवि लामिछानेलाई मिति २०८१ कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय, च:मति, वनस्थलीबाट साँझ ६.०० बजे पक्राउ गरी सडक मार्गबाट रातारात लगी बिहान ४ बजे पोखरा पुर्याइएको थियो । प्रहरी अनुसन्धानका लागि भनी लगिएको उहाँलाई उक्त दिनदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै निम्न रुपले मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ हामी तपशिलका व्यक्तिहरु राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेश कार्यालय मार्फत राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रिय कार्यालय,हरिहरभवन, ललितपुरको ध्यानाकर्षण गराउँदछौं ।
१. मिडिया ट्राइल तथा गोप्य दस्तावेज सार्वजनिकीकरण
रवि लामिछाने कुनै पनि कसुरमा आरोपित तथा अभियुक्त होइनन्, केवल शंकित मात्र हुन् । उनले गरेको भनिएको कसुरका सम्बन्धमा अनुसन्धान सोधपुछसम्म भइरहेको हो । तर राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी उनलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेका छन् । अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको छ । जसले लोकप्रिय नेता सांसद रवि लामिछानेको मानहानी, गोपनीयताको हननका साथै चरित्र हत्या गर्ने कार्य भइरहेको छ । यसरी न्यायिक प्रक्रियालाई प्रभावित पार्न राज्यसंयन्त्र एक सार्वजनिक व्यक्तित्व विरुद्ध नियोजित रुपमा परिचालन गरिएको प्रष्ट छ ।
२. अमानवीय ढंगले स्थानान्तरण
मिति २०८१ मंसिर १९ गते दिनभर चितवनस्थित जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइएको थियो । उहाँलाई मिति २०८१ मंसिर २० गतेबिहान ११.०० बजे हवाईजहाजबाट कास्कीस्थित जिल्ला प्रहरी कार्यालय लागिने बताइएको थियो । तर मिति २०८१ मंसिर १९ गते नै सुतिरहेको बेलामा अचानक राति ११.०० बजे उठाई सभापति लामिछानेलाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको थियो । उक्त घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन् । सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।
३. निजी सामान कब्जा
पार्टी सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । जो नागरिकको मौलिक हक तथा गोपनीयतको हक विरुद्ध रहेको छ ।
यसरी कसुरदार नै नभई एक शंकित मात्र रहेका नागरिक विरुद्ध राज्य नियोजित रुपमा हावी भइरहेकोतर्फ राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको, अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८,धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विकोरुद्ध महासन्धि, १९८४ विपरीत समेत रहेको छ ।
अत: उल्लिखित पृष्ठभूमिमा सम्मानीत आयोगसमक्ष देहायका अनुरोध गर्दछौं:
रवि लामिछानेको मौलिक अधिकारहरु सुनिश्चित गरियोस् ।
रवि लामिछाने विरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन होस् ।
घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गरियोस् ।
राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानीत आयोगबाट सक्रिय कदम चालियोस् ।
उल्लिखित सवालहरुमा सम्मानीत आयोगबाट प्रभावकारी भूमिका निर्वाह गरी मानवअधिकारको रक्षा तथा जनप्रतिनिधि रवि लामिछानेमाथि न्यायको प्रत्याभूति हुने अपेक्षा समेत गर्दछौं ।
तपशिल
ज्ञानेन्द्र सिह महता
जनक धामि
चन्द्रा ऐेर
झंकर राज जाेशी
नरेन्द्र ब चन्द
कविन्द्र ठकुल्ला
पदम ब. बिष्ट
मञ्जु भट्ट
जसु भट्ट
ईश्वरी बिष्ट
सन्ताेस राज जाेशी
हरि रेग्मी
पारष बाहुन
भिम बाेहरा
Discussion about this post