नवराज अवस्थी, ४ पौष । बेलौरीमा आउदो सोमवार देखि पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला लाग्ने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवं बेलौरी नगरपालिकाको सह आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८१ लाग्ने भएको हो ।
“कृषि, पर्यटन, उद्योग र व्यापार सम्बद्ध बेलौरी आधार” भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सव २०८१ पुस ८ गतेदेखि पुस १७ गतेसम्म बेलौरीको खुलामञ्चमा महोत्सव लाग्ने आयोजकले जनाएको छ । महोत्सवको उद्देश्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव गरिन लागेको हो ।
महोत्सवबारे बेलौरी उद्योग वाणिज्य संघको सभा कक्षमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले महोत्सवका विभिन्न पक्षबारे प्रकाश पार्दै महोत्सवलाई अझ व्यापक र व्यवस्थित गरिने बताउनु भयो । मेला सञ्चालनका लागि उद्योग वाणिज्य संघले राजनीतिक दल सहित सरोकारवाला पक्षसँग निरन्तर छलफल चलाइरहेको छ । महोत्सव सञ्चालनका लागि करिब २० लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहहरूलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने बताउँदै महोत्सवमा ९० वटा स्टल राखिनेछ ।
यी स्टलहरूमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधिहरूको प्रदर्शनी गरिने, स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादनहरू प्रदर्शनीमा राख्ने अवसर पाउनेछन् भने आधुनिक कृषि उपकरण र प्रविधिहरूको प्रयोगसम्बन्धी जानकारीसमेत गराइनेछ । महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू हुन्। स्थानीय कलाकार एवं राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
बेलौरी उद्योग वाणिज्य सङ्घ आबद्ध व्यापारीहरूलाई स्थल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग प्रमुख आयका स्रोत हुनेछन्। महोत्सवले व्यापारिक सहकार्य र नेटवर्किङका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास पनि व्यक्त गर्दै महोत्सवमा सबै क्षेत्रका नागरिक, व्यवसायी, र किसानहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।
महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवले स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ ।
आयोजक समितिले महोत्सवमा उपस्थितिका लागि हार्दिक अपिल गरेको छ । महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि रु १सय रुपैयाँ विद्यार्थीहरूका लागि रु ६० रुपैयाँ र ६० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि प्रवेश शुल्क निःशुल्क गरिएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले जानकारी दिनुभयो ।
Discussion about this post