मीरा श्रेष्ठ, मंसीर १५, बेलौरी ।कञ्चनपुरको बेलौरी नगरपालिकामा ‛नेवाः देय् दबू’ को नगर स्तरीय अधिवेशन सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष अशोक श्रेष्ठको सभाध्यक्षता रहेको सो अधिवेशनमा बेलौरी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा ‘नेवाः देय् दबू’ जिल्ला समितीका अध्यक्ष प्रकाश श्रेष्ठ सदस्य अर्जुन श्रेष्ठ तथा ‘नेवाः देय् दबू’ केन्द्रिय समितिका सदस्य पुनम श्रेष्ठ अतिथिका रुपमा थिए ।
अधिवेशनले सर्वसम्मतमा ७ सदस्यीय नयाँ समिति पारित गरेको छ । जसअनुसार अध्यक्षमा सुरज श्रेष्ठ, उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवका लागि डम्बर बहादुर श्रेष्ठ, कोषाध्यक्षमा एलोना श्रेष्ठ र तीन सदस्य क्रमशः शेर बहादुर श्रेष्ठ, हिमाल श्रेष्ठ र राम माया श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै बेलौरी नगरपालिका वडा नं ७ का अध्यक्ष तथा ‘नेवाः देय् दबू’ जिल्ला समितीका अध्यक्ष प्रकाश श्रेष्ठले नवनिर्वाचित टिमबाट नेवाः समाजको उत्थान हुने विश्वास गरिएको बताए ।
त्यस्तै केन्द्रिय समितिको तर्फबाट पुनम श्रेष्ठले नगर समिति बलियो हुनसके मात्रै नगर अन्तर्गत भएका गुठीहरुको प्रभावकारी कार्यसञ्चालन हुने औल्याईन् ।
शुभकामना कार्यक्रममा बोल्दै सभाध्यक्ष अशोक श्रेष्ठले भने, “मेरो कार्यकाल अनुभवले भरिएको समीक्षा गर्दछु र अबको नव युवाहरुले भरिएको नवकार्यसमितीलाई आफ्नो समुदायको रीतिथितीको जगेर्ना गर्ने भरपुर समय दिएर अगाडि बढाउनुहुनेछ भन्ने विश्वास राखेको छु । साथमा हामी सबैको सहयोग त रहने नै छ ।”
यसैबीच भीमसेन देव गुठीका कोषाध्यक्ष गजेन्द्र श्रेष्ठले नगरमा रहेका गुठीहरुको समायोजन गर्नुपर्ने कुरामा जोड दिए । उनले भने, ‟हाम्रो नेवाः संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भनेकै हामीले हो । त्यसैले हामी सबै नेवारहरु एकजुट भई गुठी समायोजन गर्नुपर्छ । आपसी हातेमालोमा नेवा समुदायको संस्कृतिको विकास गर्नुपर्छ ।”
उनको भनाइलाई समर्थन गर्दे नेवाः देय् दबू का जिल्ला सदस्य अर्जुन श्रेष्ठले थपे, ‟गुठीको व्यवस्थापनको लागि सबैभन्दा पहिला त कोषको व्यवस्थापन गर्नुपर्छ । त्यसैले विगतमा गरिएका आर्थिक कारोबारहरु पारदर्शि प्रस्तुत गरौँ र अगाडि बढौँ ।”
नवसमितीका अध्यक्ष सुरज श्रेष्ठले आफुहरुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै सम्पुर्ण नेवाः सदस्यले समितीमा अपनत्व जनाउने, आवश्यकीय राय तथा सुझाव दिएर समग्र नेवाः समुदायको हित अनुरुप कार्यहरु गरिने प्रतिबद्धता व्यक्त गरे।
Discussion about this post