सुप विश्वविद्यालयका विद्यार्थीद्वारा भादा गाउँमा सामाजिक कार्य शिविर सम्पन्न

ईशु नेगी/महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत सामाजिक कार्य विषयका सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा सामाजिक कार्य शिविर सम्पन्न गरेका छन्।

शिविरमा प्राकृतिक प्रकोप, थारु समुदायको जीवनशैली, संस्कार तथा पेशागत अवस्थाबारे अध्ययन गरिएको थियो। विश्वविद्यालयका उपप्राध्यापक अमित यादवले विद्यार्थीहरूले समुदायमा गएर कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्ने अवसर पाएको बताए। उनले स्थानीय समस्या पहिचान गर्दै समाधानका उपायहरूबारे जानकारी लिन शिविर महत्त्वपूर्ण रहेको उल्लेख गरे।

त्यस्तै, उपप्रध्यापक पृत बहादुर बिष्टले भादा गाउँमा थारु समुदायको बसोबास भएकाले उनीहरूको संस्कृतिबारे विद्यार्थीहरूलाई अध्ययन गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। उनले सामाजिक कार्यका विद्यार्थीहरूलाई समुदायका चुनौतीहरूबारे सचेत गराउन सडक नाटकमार्फत जनचेतना फैलाउनु आवश्यक रहेको धारणा राखे।

विश्वविद्यालयका शिक्षण सहायक हरिप्रसाद बडुले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न समुदायमा पुर्‍याउनु कलेजको दायित्व भएको बताए। सामाजिक कार्यका विद्यार्थीहरूले गाउँको वास्तविकता बुझ्न र प्रत्यक्ष अनुभव गर्न शिविर महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

शिविरमा सहभागी सातौँ सेमेस्टरकी विद्यार्थी संगिता धामीले समुदायमा प्रत्यक्ष रूपमा गई अध्ययन गर्दा कक्षा कोठामा पढेको र व्यवहारमा अनुभव गरेकामध्ये ठूलो भिन्नता रहेको बताइन्। “पहिले समुदायका समस्या चिन्न सकिएको थिएन, तर यहाँ आएपछि उनीहरूका समस्याहरू बुझ्ने अवसर मिल्यो,” उनले भनिन्।

धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीका अनुसार भादा गाउँमा ८० प्रतिशत थारु समुदायको बसोबास रहेको छ। “यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आवद्ध छन्, विशेष गरी च्याउ खेती, धान तथा गहुँ खेतीलाई प्राथमिकता दिने गर्छन्,” उनले भने।

उनका अनुसार भादा गाउँमा १२ वर्षदेखि होमस्टे सञ्चालनमा छ, जहाँ हरेक वर्ष करिब ६० हजार पर्यटकहरू आउने गरेका छन्। अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्यामा पनि वृद्धि भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित