काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिको समय नजिक आइपुगेको भन्दै जनतालाई तयार रहन अपिल गरेका छन्। शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन्।
लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए। अदालतबाट निस्कने क्रममा उनले सरकारको वर्तमान अवस्था समाल्दै भने, “सरकार नांगिएको छ, त्यसैले सरकारले आफ्ना कमजोरीलाई लुकाउन अदालतमा हिँडिरहेको छ।“
सभापति लामिछानेले भने “समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्दछु। गेट रेडी फर द रेभुलेसन।“ उनले यसका साथै आफ्नो बोल्ने समय एकदमै नजिक आएको र त्यसपछि धेरैको बोली बन्द हुने पनि उल्लेख गरे।
“मेरो बोल्ने समय नजिक आउँदैछ। अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,“ लामिछानेले भने। साथै, उनले आफू कुनै आवेग वा उत्तेजनामा नभएको र मुलुकको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मात्र प्रतिक्रिया व्यक्त गर्ने बताए। “म जिम्मेवार राजनीतिक दलको हिसाबले कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन,“ उनले भने।
Discussion about this post